भारतमा कोरोना संक्रमितको संख्या २४ हजार, संक्रमणको वृद्धिदर ८ प्रतिशत

काठमाडौं,१३ वैशाख: भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् ।
भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८१७ जनामा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै गुजरातमा दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा दुई हजार ५१४ पुगेको छ ।
अहिलेसम्म भारतमा ७७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । यसैगरी भारतमा पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
लकडाउनपछि भारतमा कोरोना संक्रमितको वृद्धिदर ८ प्रतिशत
लकडाउनका कारण भारतमा कोरोना संक्रमणको वृद्धिदर ८ प्रतिशतमा झरेको छ ।
लकडाउन सुरु हुँदाको समयमा २१.६ प्रतिशत रहेको कोरोना संक्रमितको वृद्धिदर लकडाउनको एक महिना पछि आउँदा ८.१ प्रतिशतमा झरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनाअघि लकडाउन घोषणा गरेका थिए । त्यतिबेला त्यहाँ कोरोना संक्रमितको संख्या करिब ५ सय थियो । तर कोरोना संक्रमितको सख्या अत्यधिक रहेको धेरै प्रमाणहरु थिए । त्यसैले मार्च २४ मा कोरोना संक्रमितको दैनिक वृद्धदर २१.६ प्रतिशत रहेको थियो ।
यदि लकडाउन नगरेको भए वा कोरोना संक्रमितको सुरुकै वृद्धिदर कायम रहेको भए अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्ने भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । जबकी अहिले भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय जना रहेको छ ।
लकडाउनको पाँच हप्ताको तेस्रो दिनसम्म पनि कोरोना संक्रमितको वृद्धिदर ८ प्रतिशत हुनु पनि बढी हो । जबकी लकडाउनपछि जर्मनीमा कोरोना संक्रमितको वृद्धिदर जम्मा २ प्रतिशत छ भने अमेरिकामा ४.८ प्रतिशत मात्र छ ।
अहिलेको वृद्धिदर कायम रहने हो भने आउँदो हप्ता कोरोना संक्रमितको संख्या ४० हजार पुग्छ भने १५ दिनमा ७० हजार पुग्छ । त्यस्तै मे महिनाको अन्त्यसम्म संक्रमितको संख्या २ लाख ५० हजार पुग्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
