पूर्वसचिव उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने

काठमाडौं, ११ बैशाखः नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने भएको छ ।

प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतमा उनलाई उपस्थित गराएर म्याद थप गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले हिजो बुधवार साँझ ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

उपाध्यायमाथि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै ३ ठाउँबाट उजुरी आएपछि नियन्त्रणमा लिइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।

अहिले उपाध्यायलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न तरुण दलको माग

नेपाल तरुण दलले पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न माग गरेको छ ।

तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरी उपाध्यायलाई विनासर्त रिहा गर्न माग गरिएको छ । उपाध्यायलाई झुटा आरोप लगाई पक्राउ गरिएको तरुण दलको भनाइ छ ।

विपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटलभित्र बन्धक बनाएको भन्ने सुन्नमा पनि आएको भन्दै तरुण दलले त्यसलाई लोकतन्त्र विरोधी गतिविधि भनेको छ ।

तरुण दलले सरकारका यस्ता गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि ‘जस्तोसुकै’ आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.