नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो
काठमाडौं, ९ वैशाख : उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहीँ मध्ये आज ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
यस्तै, कोरोना संक्रमित ४२ जनामध्ये चार जना उपचारपछि निको भएका छन् ।

