काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ, ९ वैशाख: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
कोरोनाको सङ्क्रमणसँग पूरै विश्व एक भएर लडिरहेका बेला सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकोप्रति काँग्रेसले गम्भीर असहमति प्रकट गरिसकेको छ । सरकारको उक्त कदमपछि कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ ।
सभापति देउवाले सोमबार नै एक वक्तव्यमार्फत सरकारको कदमप्रति कोरोनाको सङ्क्रमणको सङ्कटको अवस्थामा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद् घटना भएको टिप्पणी गर्नुभएको थियो । उहाँले अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवनरक्षामा सम्पूर्णरूपले केन्द्रित हुन सरकारलाई अपिलसमेत गर्नुभएको छ ।
