ट्रम्पले ल्याए लकडाउन खोल्न नयाँ प्रस्ताव

काठमाडौं, ५ वैशाख: कोरोना भाइरस संक्रमण फैलिरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् ।

राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन् । १८ बुँदे निर्देशिकामा एउटा चरण कम्तीमा १४ दिनको हुने जनाइएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ६ लाख ७७ हजार पाँच सय ७० जना संक्रमित भइसकेका छन् भने ३४ हजार छ सय १७ जनाको मृत्यु भइसकेको छ ।

यस्तै संक्रमितमध्ये १३ हजार ३ सय ६९ को अवस्था गम्भीर छ भने हालसम्म ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले केही राज्यहरुमा यसै महिनादेखि लकडाउन हटाउन सक्ने बताएका छन् ।

दैनिक ब्रिफिङका क्रममा बिहीबार राष्ट्रपति ट्रम्पले भनेका छन् ‘हाम्रो युद्धको अर्को मोर्चामा अमेरिका फेरि खुला हुनेछ ।’

ट्रम्पले अगाडि भनेका छन् ‘अमेरिका खुला हुन चाहन्छ र अमेरिकन खुला हुन चाहन्छन्, देश बन्द राख्नु दिगो समाधान होइन ।’ उनले लामो समयको लकडाउनले सार्वजनिक स्वास्थ्यमा गम्भीर समस्या ल्याउने सम्भावना देखिएको बताएका छन् ।

उनका अनुसार लकडाउनले लागूऔषध दुव्र्यसनी, मदिरा प्रयोग, मुटुका बिरामी र अरु शारीरिक र मानसिक समस्या बढ्न थालेको छ ।

ट्रम्पले स्वस्थ नागरिकले निश्चित नियम पालना गरेर काममा फर्किने प्रस्ताव गरेका छन् । त्यस्तै स्वस्थ व्यक्तिले सामाजिक दूरी कायमै राखेर काममा सहभागी हुने र अस्वस्थ भए घरमै राख्ने ट्रम्पको रणनीति छ ।

यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने अमेरिकाले कोरोनाभाइरस संक्रमणको चरम बिन्दु पार गरिसकेको बताएका छन् ।

लकडाउन खुला गर्नुलाई ट्रम्पले अमेरिकी अर्थतन्त्रमा ‘समयको सावधानी कदम’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.