नेपाल एयरलाइन्सका दुई जहाज मेडिकल सामग्री ल्याउन चीन उड्यो
काठमाडौं, ४ वैशाख : नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन् । यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको मेडिकल सामग्री ल्याउने यो चौथो चार्टर्ड उडान हुनेछ ।
दुबै जहाज मेडिकल सामग्रीको आपूर्तिका लागि निजी कम्पनीले चार्टर्ड गरेर लैजान लागेका हुन् । पछिल्लो समय निजी क्षेत्रबाट धमाधम मेडिकल सामग्री आयात भइरहेको छ ।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् ।
आज साँझ पौन छ बजे उड्ने यी जहाज शुक्रबार बिहान मेडिकल सामग्री लिएर काठमाडौं आउने छन् ।
