डब्लुएचओलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

काठमाडौँ, वैशाख ३: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने बताए लगत्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले वक्तव्य जारी गरेर कुनै पनि अवस्थामा अहिले सहयोग रोक्न नहुने बताएका हुन् । वक्तव्यमा महासचिवले भनेका छन्, ‘यो समय सहयोग रोक्ने वा कम गर्ने होइन । अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको औंल्याए ।
कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको युद्धका लागि विश्वव्यापी प्रयासको खाँचो रहेको महासचिव गुट्रेसले बताएका छन् । कोभिड–१९ को संक्रमण अन्त्यका लागि विश्वभरका सरकार तथा निकायहरुको सहकार्यको आवश्यकता रहेकोमा उनले जोड दिएका छन् ।

मानव समुदायले सामान गरेको अति खतरनाक चुनौतिका बेला विवादको कुनै गुञ्जायस नहुने महासचिवले बताए ।
यसअघि ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लुएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाएका थिए । डब्लुएचओका प्रमुखले कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।
ट्रम्पले ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा भने, ‘मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिइँदै आएको सहयोग रोक्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको खराब व्यवस्थापन तथा चीनको ढाकछोप गरेको घटनाको मूल्यांकन गर्न भनेको छु ।’
अमेरिका डब्लुएचओको ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो ।
