विभिन्न राजनीतिक दलको शुभकामना
कोरोना नियन्त्रणमा सफलता मिल्ने अध्यक्ष प्रचण्डको विश्वास
काठमाडौँ, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ । नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उहाँले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गर्नुभएको छ । अध्यक्ष दाहालले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गर्नुभएको छ ।
संकटमा सँगै लड्न सकिन्छ: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको छ ।
नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त रहेको र यस वर्षको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति संक्रमित तथा एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको दुःखदायी घटना विश्वले व्यहोर्नुपरेको बताउनुभएको छ । “कोरोनाको संक्रमणका कारण विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजिटिभ देखिएको घटना हाम्रो सामु विद्यमान छ”, उहाँले भन्नुभएको छ ।
नेता देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकामा जोड दिँदै लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न र गराउन सबैमा आग्रह गर्नुभएको छ । उहाँले नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुनेछ भन्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस्: पूर्वअध्यक्ष रेग्मी
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेको नीति अनुसरण गरी कोरोनासँग लड्न एकजुट हुनाको विकल्प नरहेको स्पष्ट गर्नुभएको छ ।
पूर्वअध्यक्ष रेग्मीले भन्नुभएको छ, “एकल प्रयासले मात्र लड्न असम्भव देखिएको यो महामारीलाई सामूहिक प्रयास र सहयोगले परास्त गर्न सफल होऔँ । बन्दाबन्दी ‘लकडाउन’को उल्लङ्घनबाट होइन यसको परिपालनाबाट नै हामी सुरक्षित हुन्छौँ भन्ने कुरा नबिर्साैं ।” उहाँले सम्पूर्ण नेपालीको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
सुख, शान्ति र समृद्धि प्राप्ति होस्: राजपा
राष्ट्रिय जनता पार्टीका संयोजक शरत्सिंह भण्डारीले नयाँ वर्षका उपलक्ष्यमा देशविदेशमा रहेका सबै नेपाली परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मुलुकमा जारी लकडाउनबाट दैनिक मजदूरी गरी जीवनयापन गरिरहेका तथा विपन्न वर्गलाई रोजीरोटीका लागि परिरहेको समस्या सम्बोधन गर्न प्रभावकारी कदमको आवश्यकता औँल्याउँदै सन्देशमा उहाँले नयाँ वर्षले कोरोना, गरीबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने कार्यमा सफलता प्रदान गरोस् भन्नुभएको छ ।
लकडाउनको पालना गर्नुस्: थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोभिड–१९ लाई पराजित गरी मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न नयाँ वर्ष सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने जनताको उत्कट चाहनालाई नयाँ वर्षले सम्बोधन गर्न सकोस् भन्दै सम्पूर्ण नागरिकको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “लकडाउनको कठोर पालनाबाट मात्र कोभिडको प्रकोपलाई पराजित गर्न सक्दछौँ । यो यथार्थलाई आत्मसात् गर्न म सबैमा अपिल गर्दछु ।”
