कर्णाली प्रदेश विपद् कोषमा रु ३० लाख सहयोग   

सुर्खेत, २६ चैत : कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा आज रु ३० लाख सहयोग गरिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कोषमा सुर्खेत बौद्ध ग्रामीण सहकारी संस्था लिमिटेडले रु २५ लाख र एनसिसी बैंक जिल्ला शाखाले रु पाँच लाख आज सहयोग गरेका हुन् ।

बौद्ध सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसी र बैंकका कर्णाली प्रदेश प्रबन्धक सञ्जय कार्कीले आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन समितिका कार्यकारी संयोजक नरेश भण्डारीलाई चेक हस्तान्तरण गर्नुभयो । बौद्ध ग्रामीण सहकारी संस्थाले प्रदेश विपद् कोषमा रु २५ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ वडालाई रु एक लाखसहित रु २६ लाखको सहयोग उपलब्ध गरी कर्णालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम सहयोग गरेको हो । सो सहकारीको र बैंकको चेक लिँदै कानूनमन्त्री भण्डारीले मनकारी संस्थाहरुप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत केसीले मुलुकका सात प्रदेशमा कर्णाली सबैभन्दा कमजोर भएकाले कोरोनाविरुद्धको लडाइँमा सबै जिल्लामा स्वास्थ्यकर्मीलाई पिपिई, किट, मास्क, ग्लोब र भोकको चपेटामा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । एनसिसी बैंक सुर्खेतका शाखा प्रबन्ध शिव सापकोटाले कोरोना प्रतिकार्य गर्नु दायित्व सम्झेर साथ दिइएको बताउनुभयो ।

उक्त चेक ग्रहण कार्यक्रममा कानूनमन्त्री भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा तथा प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.