कोरोना भित्रिन नदिन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट
विमलबहादुर विष्ट । डोटी, ९ चैत : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ भित्रिन नदिन प्रदेश सरकारले विभिन्न तयारी गरिरहेको बताउनुभएको छ । राष्ट्रिय समचार समिति (रासस) सँग विशेष कुराकानी गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका कुनै पनि ठाउँमा कोरोना भाइरस आउन नदिनका लागि प्रदेश सरकारले उच्च सतर्कता अपनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरस भित्रिन नदिन हामीले सम्पूर्ण सतर्कता अपनाएका छौँ, सुदूरपश्चिमका विभिन्न ठाउँमा जाँच स्थल खडा गरेका छौँ, कोरोनाको सङ्केत देखिए तुरुन्त उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाएका छौँ ।” कोरोना भित्रिन नदिन प्रदेश सरकारका सबै अङ्ग निकै चनाखो रूपमा खटिएकाले कसैले पनि नडराउनसमेत मुख्यमन्त्री भट्टले सबैमा आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका विभिन्न स्थानीय तहले कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णय र कार्य गर्न थालेका छन् । हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्वतयारीलाई मजबुत बनाउने निर्णय प्रदेश सरकारले गरेको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा प्रदेश सरकारले सम्भावित जोखिमबाट बच्न सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आइसोलेशन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेर धेरै स्थानमा स्थापना पनि गरिसकिएको छ । यहाँको सामाजिक विकास मन्त्रालयले कोरानाको सङ्क्रमण भित्रिन नदिन र रोकथाम गर्न आवश्यक व्यवस्थापनको नेतृत्व गरिरहेको छ ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका डा भुषण मिश्रका अनुसार यहाँका सीमा नाका र जिल्ला गरी प्रदेशभरिमा कूल २९ हेल्थ डेस्क र ५० आइसोलेशन श्यया स्थापना भएका छन् । हेल्थ डेस्क सबैभन्दा बढी कैलालीमा स्थापना गरिएको छ । सबैभन्दा कम बाजुरा र बैतडीमा गरिएको छ । कैलालीमा छ, कञ्चनपुर र दार्चुलामा पाँच–पाँच, डोटी र बझाङमा चार–चार, अछाममा तीन, बैतडी र बाजुरामा एक–एक तथा डडेल्धुराको स्याउलेमा एक हेल्थ डेस्क स्थापना गरिएका छन् ।
स्थानीय सरकारको पनि सचेतना अभियान
विश्वभर महामारीका रूपमा फैलिइरहेको कोरोना कोभिड–१९ का बारेमा यहाँका स्थानीय सरकारहरूले नागरिकलाई सचेत गराइरहेका छन् । डोटीका स्थानीय तहले विभिन्न स्वास्थ्यकर्मी तथा स्वंयंसेवकमार्फत सचेतनाका काम गरिरहेको डोटीका प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरस भित्रिन सक्ने भन्दै सुदूरपश्चिम प्रदेशका सिमानामा जोडिएका भारतको उत्तर प्रदेशका नाकाहरु पनि बन्द गर्ने तयारी भइरहेको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका निजी सचिव कृष्णराज जोशीले जानकारी दिनुभयो ।
त्यस्तै स्थानीयवासीको स्वास्थ्य सतर्कतालाई ध्यानमा राख्दै यहाँका स्थानीय तहले आफ्नो स्थानीय तहमा भएका स्वास्थ्यकर्मीलाई अतिआवश्यकबाहेक अन्य कामका लागि बिदा नदिने निर्णय गरेको छ । स्वास्थ्यकर्मी चौबिसै घण्टा अस्पतालमा हाजिर हुनुपर्ने उर्दीसमेत जारी गरेको बताइएको छ ।
विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी घरबाहिर ननिस्कन तथा भीडभाड नगर्नसमेत यहाँका सबै जिल्ला प्रशासन कार्यालय सूचना प्रकाशित गरेका छन् ।
कैलालीको गौरीफण्टा र खक्रौलामा उच्च सतर्कता
कैलालीमा भारतसँग जोडिएका गौरीफण्टा र खक्रौलाबाहेकका अन्य नाकामा आवागमनमा रोक लगाइएको छ । गौरीफण्टामा बसेको नेपाल–भारतका अधिकारीहरूको संयुक्त बैठकले जिल्लाका दुई नाकाबाट मात्र आवातजावत गर्न दिने सहमति गरेको हो । जिल्लाका गौरीफण्टा र खक्रौला नाकामा उच्च सतर्कता अपनाउँदै आवागमन गर्न दिने सहमति भएको कैलालीका प्रजिअ यज्ञराज बोहराले जानकारी दिनुभयो ।
धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको हो । धनगढीबाट गौरीफण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए ।
