अधिकांश अन्तर्राष्ट्रिय उडान स्थगित

काठमाडौँ, ७ चैत : कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेका छन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अधिकांश गन्तव्यको उडान स्थगन भएको छ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले क्रमशः नियमित गन्तव्यका उडान स्थगन गरेको हो ।

निगमले छिमेकी मुलुक भारतका तीनसहित छ देशका नौ गन्तव्यमा नियमित उडान भर्दै आएको छ । भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर तथा मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, हङ्कङ, जापानको नारिता, युएईको दुबई र कतारको दोहा गन्तव्यमा निगमले नियमित उडान भर्दै आएको छ ।

कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित देशले अन्य मुलुकका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा केही समयका लागि रोक लगाएकाले निगमले ती देशका गन्तव्यको उडान धमाधम स्थगन गर्न लागेको हो । निगमले आगामी आइतबारदेखि भारतका सबै तीन गन्तव्यको उडान स्थगन गर्ने तयारी गरेको छ । भारतले ट्राभल एड्भाइजरी जारी गरिसकेकाले २२ मार्च २०२० देखि भारतका गन्तब्यको उडान स्थगन गरिने निगमले जनाएको छ ।

निगमले यसअघि बिहीबार जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगन गरेको थियो । आज रातिदेखि लागू हुनेगरी निगमले दुवै गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो । त्यस्तै निगमले गत चैत ४ गते क्वालालम्पुरको उडान स्थगन गरेको थियो । बैंकक र हङ्कङ गन्तव्यको उडान भने अहिले स्थगन गर्ने योजना नरहेको निगमले उल्लेख गरेको छ ।

यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ । निगमले यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । नेपालबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

हिमालयका सबै अन्तर्राष्ट्रिय उडान स्थगित

निजी लगानीको हिमालय एयरलाइन्सले पनि आफ्ना सबै अन्तर्राष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो । कम्पनीले आजराति अबुदाबीको अन्तिम उडान गरेपछि अबको केही समय कुनै पनि उडान नगर्ने भएको हो । कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय गन्तव्य मुलुकले पनि विशेष सावधानी अपनाएकाले कम्पनीले सबै गन्तव्यको उडान स्थगन गरेको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले जानकारी दिनुभयो ।

हिमालयले कोभिडको शुरुआत भएको चीनका पाँचवटै गन्तव्यको उडान यसअघि नै स्थगन गरिसकेको थियो भने पछिल्ला दिनमा दैनिकजसो हरेक गन्तव्यको उडान स्थगन गर्दै आएको छ । कम्पनीले पछिल्लो पटक बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, युएइको दुवई, अबुदाबी र साउदी अरेबियाको दमाम गन्तव्यको उडान स्थगन गरेको हो ।

विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सरसफाइलाई तीव्र सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताउनुभयो ।

मन्त्रालयमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलको सरसफाइ अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले विमानस्थलको सफाइलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले काम अघि बढाउने स्पष्ट पार्नुभयो । उहाँले सफाइ मजदूरलाई आवश्यक तालीम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताउनुभयो ।

सो अवसरमा एनआरएनए अभियानकर्मी एवं सफाइ विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलको सरसफाइ अवस्थाको बेग्लाबेग्लै ‘अडिट’बुझाउनुभएको थियो । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(आन्तर्राष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’मा हाल विमानस्थलको सरसफाइको अवस्था, कानूनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामको सूची र सुझाव समावेश छ । शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सरसफाइ गर्नुपर्ने सफाइका स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने, सरसफाइ मजदूरलाई तालीमको व्यवस्था गर्नुपर्ने, सफाइ मजदूरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्नेलगायतका सुझाव दिनुभएको ।

मन्त्री भट्टराईले उल्लेखित सुझाव महत्वपूर्ण र सान्दर्भिक भएको भन्दै ती सुझावका आधारमा विमानस्थलको सरसफाइ शुरु गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिनुभयो । उहाँले ती सबै सुझाव सम्बन्धित विमानस्थलमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिनुभएको हो । सुधारका सुझाव तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्थाबारेमा प्रतिवेदन तयार पार्न मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.