पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उहाँले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न सङ्गठित प्रयास भएको बताउनुभयो ।
‘‘आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ । कसैले २० करोड खाको भन्छ, कसैले भन्छ घुस माग्यो । यही आरोप सत्य हो भने ऊ सजायँको भागीदार हुन्छ’’ उहाँले भन्नुभयो, ‘‘ होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ ।’’ उहाँले कम्युनिष्ट पार्टीको आचरण र आदर्श भ्रष्ट हुँदैन भन्दै कोही भ्रष्ट भएमा त्यसलाई कारवाही गरिने स्पष्ट गर्नुभयो ।
उहाँले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनधिकृत ढङ्गले आएको बताउनुभयो । ‘‘मेरो बारेमा प्रश्न उठेको हुनाले गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिन्छु भनेर राजीनामा दिनुभएको हो । मैले राजीनामा स्वीकृत गरेँ’’, उहाँले भन्नुभयो, ‘‘ उहाँले यो टेप मेरो होइन भनिरहनुभएको छु । म न्याय खोज्छु भन्नुभएको छ । स्वीस राजदूतावासले पनि उसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यसको कुनै सत्यता पुष्टि भएको छैन । त्यसकारण उक्त टेपमा कुनै प्रमाण छैन । त्यो टेप प्रकरण प्रमाणित हुँदैन ।’’ उहाँले बाँस्कोटमा दोष देखिएमा त्यसको सजाय उहाँले भोग्ने बताउनुभयो । उहाँले आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको छ भन्दै त्यो काम नलाग्ने बताउनुभयो ।
उहाँले पार्टीको सही नीति तथा व्यापक र सुदृढ सङ्गठन भए पनि प्रचारमाध्यममा मात्र कमी रहेको बताउनुभयो । उहाँले केही विरोध गर्न नपाएपछि आफ्नो जन्मदिनमा जनताले केक काटेर उत्सव मनाएकामा पनि नेपाली काङ्ग्रेसले विरोध गरेको बताउनुभयो । ‘‘भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने काङ्ग्रेस केकमा राष्ट्रवाद भन्न थालेको छ’’, उहाँले भन्नुभयो, ‘‘ मेरो जन्मस्थलमा मसँगै पानी, बिजुली पुगेपछि जनताले केक काटेर उत्सव मनाएका हुन् । कसले केक ल्याए, मलाई थाहा छैन । मैले केक छोइदिएको मात्र हुँ । केक उनीहरुले नै काटेका हुन् ।’’
संसद्मा जवाफ दिइने
उहाँले संसद्बाट आफू कहिल्यै नभागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘संसद्मा बोल्दाखेरि हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसद्मा दुई तिहाई ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिन ।’’ उहाँले आफू कुनै समय संसद् जाने र प्रतिपक्षको कुरा सुनेर जवाफ दिने पनि स्पष्ट गर्नुभयो । ‘‘प्रधानमन्त्री विभिन्न कामले सधैँ संसद्मा पुग्न सक्दैन’’, उहाँले भन्नुभयो, ‘‘ म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु ।’’
केही दिनमा मिर्गाैला प्रत्यारोपण
प्रधानमन्त्री ओलीले केही दिनभित्र आफूले मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैटाँै दिनमा घर आएर काम शुरु गर्ने उहाँको भनाइ थियो । उहाँले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गर्नुभयो । ‘‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’’, उहाँले भन्नुभयो, ‘‘ बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।’’
साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहन्छन् : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले त्यस्ता विवाद, बहस र सङ्घर्षलाई सहजै स्वीकार गर्नुपर्ने बताउनुभयो ।
“हामी कतिपयलाई लाग्छ यो बडो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, नेता कार्यकर्ताबीच अनावश्यक विवाद र बहस नभइदिए हुन्थ्यो, सबै मिलेर एकजुट भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ”, पार्टीको विचार सङ्घर्षप्रति इङ्कित गर्दै उहाँले भन्नुभयो, “कार्यकर्ता र जनतलाई त्यस्तो लाग्ने एउटा कुरा हो, त्यस्तै होस् भन्ने हाम्रो चाहना पनि हो, तर जुन दिन यो साँच्चै शान्त, एकजुट र विवादरहित साँच्चै त्यस्तै भएदेखि यो पार्टी चाँहिदैन, जुन दिन विवारहित हुने दिन आउँछ, त्यो साम्यवाद हो ।”
पार्टी एकतामार्फत जनताका आशा र अपेक्षालाई नयाँ उचाइमा उठाइएको जिकिर गर्दै अध्यक्ष दाहालले जनताको अपेक्षामाथि तुसारापात हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरीको पानी जस्तो नभएको टिप्पणी गर्दै उहाँले नेकपा गड्गडाउने खोला जस्तो ठोक्किँदै, भत्काउँदै साम्यवादतिर लम्कने पार्टी भएको बताउनुभयो ।
विचार, विधि र नेतृत्वको सम्मिलनबाटै पार्टी एकता सम्भव भएको उल्लेख गर्दै पार्टी एकताले नेपालको राजनीतिक मार्गचित्र बदलेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकतापछि कम्युनिष्ट पार्टीलाई दुईतिहाईको ठाउँमा ल्याएर देशको शासन सत्ताको नेतृत्व गर्ने, जनताको भरोसा जित्ने र आफ्नो प्रतिस्पर्धीलाई लोकप्रिय मतले पराजित गरेर ऐतिहासिक उदाहरण हामीले प्रस्तुत गरेका छौँ ।”
पाटीभित्रको बहसबारे सञ्चार माध्याममा आएको कुरालाई विश्वास नगर्न अनुरोध गर्दै अध्यक्ष दाहालले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेकाले ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । “दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईंहरुनै तर्सने जसरी । तर, विवाद समाधान गरेका त छौँ”, उहाँले भन्नुभयो, “अहिले पनि केही विषयमा केके हो भन्ने आएको छ । मिडियामा आएको जसरी पछि नलाग्नु होला । हामी बसेर समस्या समाधान गर्छौँ ।” अध्यक्ष दाहालले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
