प्रदेशसभा बैठक–विधेयक प्रस्तुत

विराटनगर, १ फागुन : प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं–१ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव पेश गर्दै प्रदेशको व्यापार व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र व्यवस्थित बनाई राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन विधेयक आवश्यक भएको बताउनुभयो ।

यसैगरी आजको बैठकमा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई विचार गरियोस् भन्ने प्रस्ताव सदनले सर्वसम्मतले पारित गरेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रस्ताव पेश गर्दै स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचमा विधेयक उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

प्रदेश वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयकमा सैद्धान्तिक छलफल आज पनि जारी रह्यो । छलफलमा प्रदेशसभा सदस्यहरु नारायणबहादुर मगर, लीला सुब्बा, विमल कार्की, विष्णु तुम्वाहाम्फे, शेखरचन्द्र थापा, सन्ध्याकुमुरी दनुवार, सुनिताकुमार चौधरी र सूर्यमाराज राईले विधेयकका विभिन्न पक्षका बारेमा बोल्नुभएको थियो । यसअघि बैठकको शून्य समयमा सदस्यहरुले समसामयिक विषयहरुमाथि आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.