‘प्रदेश सरकार ज्येष्ठ नागरिकको हकहित र सुरक्षाप्रति चिन्तित’

विराटनगर, २९ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ज्येष्ठ नागरिकको हकहित र सुरक्षाप्रति चिन्तित रहेको बताउनुभएको छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा ९० वर्ष माथिका ज्येष्ठ नागरिक सम्मान तथा प्रोत्साहन भत्ता वितरण कार्यक्रममा आज उहाँले १०४ वर्षीय चित्रलेखा श्रेष्ठ, १०१ वर्षीया शुभकुमारी उपाध्याय, एक सय वर्षीया कृष्णमाया खड्का र १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई नगद रु पाँच हजार, दोसल्ला, उपहारकासाथ सम्मान गर्नुभयो ।

प्रदेश सरकारले ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजार प्रोत्साह भत्ता उपलव्ध गराउने घोषणा अनुरुप आजदेखि सो कार्यको शुभारम्भ गरिएको हो ।

उहाँले नेपाली जनताले लेखको संविधानवाट जनता मालिक भएकोे बताउँदै सङ्घीयताको सफल कार्यान्वयनवा विकासको लहर दुर्गम र जनतामा पुगी जनताले चाहेको सुखी नेपालीको आकाँक्षा पूरा हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सङ्घीयताले हिमालदेखि तराई, जातजातिबीच एकता, विभेद् अन्त्य, पहिचान र नेतृत्व कायम गरी जनताको घरदैलोमा सेवा सुविधा उपलव्धता गराएको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकार जनताको सुखदुःखमा उपस्थित हुने बताउँदै सङ्घीयतामा जनताको घरदैलोमा २४ घण्टा सरकारको उपस्थिति हुने विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले योजनाबद्ध ढ्गबाट विकास निर्माणको कार्य अगाडि बढाएकाले अहिले दुई वर्षको सफल उपलब्धिका साथ सरकार अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव ग्रहण गरी नयाँ पुस्तामा हस्तान्तरण गरी विकास र समृद्ध कार्यको लक्ष्य पूरा गर्न आगाडि बढिरहेको जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिक गृह बनाउनका लागि मोरङको ग्रामथान गाउँपालिकामा ११ बिघा जग्गा खरीद गरी विस्तृत अध्ययन प्रतिवेदनका आधारमा निर्माणकार्य यस वर्षदेखि शुरु गरिने बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकलाई निजी क्षेत्रको अस्पतालमा तोकिएको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट भएकोले उपयोग गर्न आग्र्रह गर्दै सार्वजनिक यातायातका साधनमा ज्येष्ठ नागरिकको सिट आरक्षण कडाइका साथै कार्यान्वयन गरिने धारणा व्यक्त गर्नुभयो ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले ज्येष्ठ नागरिक अनुभवको सङ्गालो भएकोले राज्यले सम्मान गर्नु कर्तव्य भएको विचार राख्नुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, प्रदेश ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष भवानीप्रसाद दाहाललगायतले संविधान अनुसार ज्येष्ठ नागरिकको सम्मान भएकोमा खुशी व्यक्त गर्नुभयो ।

के भन्नुहुन्छ ज्येष्ठ नागरिक    

आज सम्मानित हुने ज्येष्ठ नागरिक विराटनगर–७ निवासी १०४ वर्षीया चित्रलेखा श्रेष्ठले प्रदेश सरकारबाट आज सम्मान पाउँदा आफ्नो घरदैलोमा सरकार भएको अनुभूति भएको बताउनुभयो । ज्येष्ठ नागरिक १०१ वर्षीय नारायणप्रसाद रेग्मीले मुलुकमा सङ«घीयता कार्यान्वयनबाट आज सम्मान पाउँदा खुशी लागेको विचार व्यक्त गर्नुभयो ।

यसैगरी विराटनगर–३ निवासी १०० वर्र्षीया कृष्णमाया खड्काले सम्मानले ज्यादै खुशी लागेको बताउँदै आगामी दिनमा यसरी अरुलाई सम्मानको गर्नुपर्नेमा जोड दिनुभयो । विराटनगर– ९ निवासी १०१ वर्षीया शुभकुमारी उपाध्यायले ज्येष्ठ नागरिकले सरकार भएको अनुभूति हुने कार्य प्रदेश सरकारले गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा ज्येष्ठ नागरिकको हक हितका लागि थप कार्य हुने विश्वास जनाउनुभयो ।

प्रदेश नं १ को ४४ स्थानीय निकायको उपलब्ध तथ्याङ्क अनुसार ९० वर्ष माथिका दुई हजार ७ ज्येष्ठ नागरिक रहेकामा विराटनगर महानगरपालिकाभित्र ३१६ जना हुनुभएको सोही अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.