प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका सात विधेयक पारित
काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित चार विधेयक पारित गरेको छ ।
पारित विधेयकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ रहेका छन् ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन विधेयक, २०७५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव छुट्टाछुट्टै रुपमा प्रस्तुत गर्नुभएको थियो ।
यसअघि उक्त विधेयकमाथि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै विधेयक पारित गरेर सहयोग पु¥याउन आग्रह गर्नुभएको थियो ।
त्यसैगरी राष्ट्रियसभाको बैठकले पनि विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राख्नुभएको थियो ।
‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभयो । उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गर्नुभएको थियो ।
‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत गर्नुभएको थियो । आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गर्नुभयो ।
भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव भूमि व्यवस्था, शहकारी तथा गरिबीमन्त्री पद्याकुमारी अर्यालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन’ प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक ३१ गते आइतबार ११ बजे बस्नेछ ।
