काम खोज्दै त्रिभुवन चोकमा मजदूर

काशीराम शर्मा । बाँके, १३ माघ : नेपालगञ्जको त्रिभुवन चौक, सडकभरि सयौँको सङ्ख्यामा मान्छेहरुको भीड । एकाबिहानै भीडमा हराउँछ त्रिभुवन चोक । पहिलोपटक त्यो भीड देख्नेहरु अचम्ममा पर्छन् । न यहाँ कुनै सभा–सम्मेलन, न त कुनै आन्दोलन नै हुन्छ । यहाँ त केवल कामको खोजीमा जम्मा हुनेको भीड हुन्छ । त्यही भीडभित्र श्रमबारे सोधीखोजी चलिरहेको हुन्छ ।

चोकको चारैतिर भीडभाड हुन्छ । विभिन्न ठाउँबाट कामको खोजीमा जम्मा हुने मजदूरको भीडमा ठेकेदारसँग श्रमबारे मोलमोलाइ भइरहेका दृश्य देखिन्छन् । एकाबिहानदेखि खाना बोकेर पुगेका मजदूर आ–आफ्नै धूनमा ठेकेदारसँग मोलमोलाइ गरिरहेका हुन्छन् । काम खोज्दै त्रिभुवन चोक पुग्ने मजदूर हरेक दिन फरकफरक ठेकेदारसँग काम गर्न जाने गर्छन् ।

धेरै पहिलेदेखि नेपालगञ्जको त्रिभुवन चोक विभिन्न व्यक्तिका लागि कामको खोजी गर्ने र काम गर्न जाने माध्यम बन्दै आएको छ । त्रिभुवन चोकको सडकैभरि बिहानदेखि कामदारको भीड लागेको हुन्छ । सडकमा आवतजावतसम्म गर्न नसकिने गरी जताततै मजदूर कामको आशमा उभिएका देखिन्छन् । कतिपय मजदूर पसलको सटरमा आड लागेर बसेका देखिन्छन् ।

यहाँ धेरै वर्षदेखि यो प्रक्रिया चल्दै आएको भए पनि यसको व्यवस्थापनका लागि न त स्थानीय सरकारको ध्यान गएको पाइन्छ, न त अन्य कुनै निकायले व्यवस्थापनमा पहल गरेको पाइन्छ । नेपालगञ्जको श्रमबजारका रुपमा प्रयोग हुँदै आएको त्रिभुवन चोकमा मजदूरका लागि व्यवस्थित ठाउँ बनाउन आवश्यक भएको जो कोहीले महसुस गर्न सक्छन् । लामो समयदेखि काम खोज्ने माध्यम बनेको भए पनि मजदूरलाई बस्ने व्यवस्था नहुँदा सडक र सडक पेटीमा उभिनुको विकल्प नभएको मजदूर बताउँछन् ।

हरेक दिन सयौँको सङ्ख्यामा जम्मा हुने मजदूरलाई बस्ने ठाउँको व्यवस्थापन र शौचालयको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ । बिहान ६ः०० देखि १०ः०० बजेसम्म काम पाउने आशामा बस्ने मजदूरका लागि शौचालय र बस्नका लागि उचित ठाउँको व्यवस्थापन नहुँदा त्रिभुवन चोक बिहान अस्तव्यस्त हुन्छ । केही व्यक्ति काम गर्ने मान्छेको खोजीमा गएपछि त्यो व्यक्तिलाई घेर्न भीड नै लाग्छ । बस्ने ठाउँको उचित व्यवस्थापन र काम नपाउने समस्याले मजदूरलाई सधैँ पीरलो हुन्छ ।

बिहान पसल नखुल्ने बेलासम्म सडकको पेटी र सटरको आडको प्रयोग गरिरहेका मजदूर पसल खुलेपछि भाग्नुपर्छ । बर्दिया माछागढ घर भई १५ वर्षदेखि कामदारका रुपमा नेपालगञ्जमा बस्दै आएका प्रकाश चौधरीले पहिले सहजरुपमा काम मिल्ने गरेको भए पनि अहिले काम नै पाउन मुस्किल हुने गरेको बताउनुभयो । वर्षांैदेखि कामका लागि त्रिभुवन चोकमा धाउन बाध्य मजदूर हरेक दिन फरक खाले ठेकेदार भेट्छन् ।

जस्तोसुकै काम पाए पनि गर्नैपर्ने भएकाले हरेक दिन काम गरेरै फर्किनुपर्ने कामदारको बाध्यता नै हुन्छ । यहाँ हरेक दिन मजदूर भेला हुने चलन वर्षौंदेखिको कायम छ । “गाउँमा काम पाइँदैन, यहाँ आउँदा खाली बस्नु पर्दैन”, मजदूर सुकीलाल थारू भन्नुहुन्छ । राप्तीसोनारी–६ फत्तेपुरका सुकीलाल ठेकेदारको पर्खाइमा रहेका त्रिभुवन चोकबाट ठेकेदारले लैजाने बेला बढी भन्ने तर ज्याला दिने बेलामा कम दिने गरेको गुनासो गर्नुहुन्छ ।

खाना बोकेर एकाबिहानै त्रिभुवन चोक पुग्ने गरेका बर्दिया बढैयाताल गाउँपालिकाका राजाराम थारू पाए काम गर्ने नत्र त्यसै बस्नुपर्ने बाध्यता रहेको सुनाउनुहुन्छ । “कति दिन त काम नै पाइँदैन, त्यसै घर फर्किनुपर्छ”, राजारामले भन्नुभयो, “कहिले काम नै पाइँदैन, कहिले ठेकेदारसँग ज्यालामा कुरा मिल्दैन, काम नपाएको दिन घरखर्च चलाउन मुस्किल हुन्छ ।” काम खोज्दै त्रिभुवन चोक पुग्ने अधिकांश मजदूर बाँके र बर्दियाका साथै भारतीयहरु हुन्छन् ।

बाँके गनापुरका मिस्त्री कालुराम चौधरी भन्नुहुन्छ, “कामै नपाउने भएपछि कम मूल्यमै काम गर्नुपर्ने बाध्यता छ, प्रायः सधैँ कम मूल्यमै काम गर्ने हो ।” कालुरामले महिनामा मुस्किलले १७/१८ दिन काम पाउने गरेको बताउनुभयो । मजदूरका बारेमा बोलिदिने कोही नहुँदा आफूजस्ता धेरै मजदूरलाई दैनिक रोजीरोटी चलाउनै मस्किल हुने गरेको उहाँको भनाइ छ ।

बर्दिया मैनापोखरका शिवकुमार थारू कामको खोजीमा हरेक दिन ६ः०० देखि १०ः०० बजेसम्म सडकमा बस्ने गरेको बताउँदै भन्नुभयो, “काम नपाएपछि रित्तो हात घर फर्किनुपर्छ ।” बर्दियाको राजापुर घर भई नेपालगञ्जमा भाडामा बस्दै आउनुभएकी रीमा चौधरीले महिनाभर ८÷१० दिन मात्रै काम पाउने गरेको बताउनुभयो । रीमाले भन्नुभयो, “हरेक दिन बिहानै कामको खोजीमा आउँछौँ कहिले काम पाइन्छ, कहिले खाली फर्किनुपर्छ ।” कामदारको भीड लाग्ने ठाउँमा कुनै बस्ने ठाउँसम्म नभएको रीमाले बताउनुभयो ।

उहाँले भारतबाट आउने कामदारहरुको सङ्ख्यामा वृद्धि हुँदै जाँदा काम पाउन समस्या भएको बताउनुभयो । नेपालगञ्जका रामचन्द्र यादवले काम पाइहाले पनि भनेअनुसार ज्याला नपाइने र पानीसम्म नखाएर काम गर्नुपर्ने बाध्यता रहे पनि मजदूरलाई कसैले नहेरेको गुनासो गर्नुभयो । “सडकमा उभिए ट्राफिकले लखेट्छ, पेटीमा बसे व्यापारीले लखेट्छन्”, उहाँले भन्नुभयो । यहाँ नेपालका मात्रै नभएर काम खोज्न आउने भारतीय मजदूरको सङ्ख्या पनि उत्तिकै छ । भारतको बाबागञ्जबाट काम खोज्न त्रिभुवन चोक पुग्नुभएका बब्लु मिस्त्रीले महिनामा १५ दिन मात्र काम पाए पनि बाँकी दिन खाली बस्नु परेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकासँग मजदूरहरुको व्यवस्थापनका लागि कुनै योजना छैन । समस्या समाधनका लागि उपमहानगरपालिकासँग कुनै योजना नभएको जानकारी दिँदै नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “मजदूरहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, उनीहरुको समस्या समाधानका लागि आगामी दिनमा ठोस योजना बनाउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.