नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक

काठमाडौँ, २७ भदौ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढङ्गको रहेको बताउनुभएको छ ।

अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग गृहमन्त्रालयमा भएको भेटमा उहाँले भन्नुभयो, “शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।”

गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको उल्लेख गर्दै अफगानिस्तानको शान्ति प्रक्रिया नेपालका लागि पनि उदाहरणीय रहने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक युद्धका कारण हुन्छन्, ती कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ, त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ ।”

सो अवसरमा अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन र संविधान लेखन प्रक्रियाका बारेमा गृहमन्त्री थापासँग चासो राख्नुभएको गृह मन्त्रालयले जनाएको छ । नेपालको शान्ति प्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको पनि उहाँहरुले जानकारी दिनुभयो ।

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ ढाँचा : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलले मन्त्रालयमा भेटवार्ता गरेको छ ।

नेपालको शान्ति प्रकियाको ढाँचा अध्ययन गर्न सो प्रतिनिधिमण्डल यहाँ आउनुभएको हो । अफगानस्तानको उच्च शान्ति परिषद्की उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहनुभएका मन्त्री पुनसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको बताइएको छ । हबिबा अफगानस्तानकी पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

सो अवसरमा ऊर्जामन्त्री पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ ढाँचा भएको उल्लेख गर्दै शान्ति प्रक्रिया सम्पन्न गरेर नेपालले संसारलाई एउटा सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको छ, हामीले शान्ति प्रक्रिया आफ्नै अग्रसरतामा सम्पन्न गर्न सफल भयौँ ।” युद्ध कुनै पनि समाजका लागि राम्रो नभए पनि त्यसका पछाडि केही बाध्यता र केही ऐतिहासिक संयोग हुने गरेको पनि मन्त्री पुनले बताउनुभयो ।

अफगानिस्तानमा शान्ति प्रक्रिया प्रारम्भ भएको थाहा पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले नेपालको ढाँचाबाट अफगानिस्तानले सिकेर शान्ति कायम गर्ने दिशामा लाग्नसमेत सुझाव दिनुभयो । मन्त्री पुनले शान्ति प्रक्रिया भनेको लडाइँभन्दा जोखिम हुने भन्दै त्यसमा धैर्यतापूर्वक काम गर्न आग्रह गर्नुभयो ।

भेटमा अफगानिस्तानका उच्च शान्ति परिषद्की उपप्रमुख डा साराबीले अफगानिस्तान शान्ति प्रक्रियामा अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.