हरितालिका (तीज)को अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, २७ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ ।

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको बताउनुभएको छ ।

चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उल्लेख गर्दै शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, वेशभूषा, गीतसङ्गीतलाई संरक्षण तथा संवद्र्धन गरिरहेका हुन्छन् ।”

राष्ट्रपति भण्डारीले देशको द्रुततर आर्थिक विकास एवं सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयङ्गम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक छ भन्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिनुहुँदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो रहेको स्पष्ट पार्दै उहाँले विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपतिले भन्नुभएको छ, “पछिल्ला दिनमा बढेका बलात्कारजस्तो जघन्य अपराधलगायतका महिला हिंसाका घटना ज्यादै गम्भीर र चिन्ताको विषय हो । बलात्कारलगायत महिला हिंसाका घटनाका दोषीलाई कानूनी दायरामा ल्याई यस्ता घटनाको न्यूनीकरण गर्नुपर्दछ । यस वर्षको तीज पर्वले महिला हिंसालगायत सबैखाले आपराधिक घटनालाई न्यूनीकरण गर्न सन्देश दिने अपेक्षा लिएको छु ।

जस्तोसुकै दुःख, कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा रहेको भन्दै उहाँले बाढी, डुबान, पहिरोबाट घरबारबिहीन हुनुभएका र चार वर्षअघि गएको विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरामै बस्दै आउनुभएका तथा विभिन्न हिंसाका घटनामा पर्नुभएका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज पर्व मनाउनुहुनेछ भन्ने विश्वास लिएको उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिनुहँुदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । “तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “यस पर्वले कहीँ न कहीँ महिला स्वतन्त्रताको इतिहास बोकेको छ । यसलाई त्यसै रुपमा जोगाएर लैजानु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.