प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफलाई 

भद्रकालीस्थित आर्मी फुटबल ग्राउण्डमा नेपाली सेनाद्वारा आयोजित प्रधान सेनापति सातौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा प्रथम हुन सफल सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडीलाई शिल्ड प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा । तस्वीर: रत्न श्रेष्ठ

काठमाडौँ, ९ पुस : सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा एपीएफका लागि सरु लिम्बू र रेखा पौडेलले एक–एक गोल गर्नुभएको थियो । खेलको छैटौँ मिनेटमा सरुले तथा ८९औँ मिनेटमा रेखाले गोल गर्नुभएको थियो । खेल अवधिभर एपीएफले बल आफ्नो नियन्त्रणमा लिएको थियो ।

उपाधिसँगै एपीएफले रु तीन लाख तथा ट्रफी प्राप्त ग¥यो । सो पुरस्कार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले वितरण गर्नुभएको थियो । एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भुटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

यस्तै उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ५० हजार प्राप्त ग¥यो । सो पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वितरण गर्नुभएको थियो । प्रतियोगितामा तृतीय भएका नेपाल पुलिस क्लब र भुटानका फुटबल टोलीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले प्रतिटोली रु ५० हजार वितरण गर्नुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खलाडीको पुरस्कार आर्मीकी दीपा राईले जित्नुभयो । उहाँले यमाहा कम्पनीको एक थान स्कुटर प्राप्त गर्नुभयो । राईलाई प्रधानसेनापति थापाले स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो । सो पुरस्कार एन्फाको समन्वयमा यमाहाले उपलब्ध गराएको हो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर एपीएफकी एन्जिला सुब्बा, उत्कृष्ट डिफेन्डर आर्मीकी पूजा रानामगर, उत्कृष्ट मिडफिल्डर भुटानकी पेमा छोदेन छिरिङ, उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपीएफकै जनक सिंह हुनुभयो । उहाँहरुले जनही रु १० हजार पुरस्कार पाउनुभयो ।

उहाँहरुलाई नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया र अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार तथा ट्रफी वितरण गर्नुभयो । सो अवसरमा सैनिक श्रीमती सङ्घकी अध्यक्ष दीपा थापाद्वारा घोषित उदीयमान खेलाडीको पुरस्कार आर्मीकी विमला विकले प्राप्त गर्नुभयो । सो पुरस्कार सङ्घकी उपाध्यक्ष रीता गिरीले वितरण गर्नुभयो ।

गत मङ्सिर २९ गतेदेखि उक्त प्रतियोगिता शुरु भएको हो । एन्फासँगको सहकार्यमा शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी भएका थिए । लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगिता सेनाले २०७० सालदेखि आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.