शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङको विजयी शुरुआत

काठमाडौँ, २ पुस : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुआत गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए । उनले खेलको २८औँ तथा ३४औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विमल भए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ । खेलको प्रारम्भदेखि नै मनाङले एपीएफलाई दबाबमा राखेको थियो । तालमेल मिलाउन नसक्दा खेल गुमाउनुपरेको एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले बताउनुभयो ।
पिपीएल : विराटनगर विजयी
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरले पोखरा पल्टनलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा विराटनगरले पोखरालाई ४५ रनले हराएको हो ।
विराटनगरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १९ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो । पोखराका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३२ रन बनाए । यस्तै कुशल भुर्तेलले २४ तथा आसिफ शेखले १३ रन बनाए । बलिङतर्फ विराटनगरका किशोर महतोले तीन तथा जयद आलम र जितेन्द्र मुखियाले दुई÷दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गर्दै विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४५ रन बनाएको थियो । विराटनगरका लागि पुनित मेहराले अविजित ६१ रनको योगदान दिए । उनले २६ बलमा चार छक्का तथा पाँच चौका हाने । सुनिल धमलाले ३६ तथा मोहमद जायद आलमले २६ रन बनाए । बलिङतर्फ पोखराका कप्तान शरद भेषवाकरले दुई विकेट लिए ।
