पिपिएल उद्घाटन खेलमा पोखराको विजयी शुरुआत

कास्की, २९ मङ्सिर : पोखरामा आजदेखि शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुआत गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली पोखराले काठमाडौँ गोल्डेन वारियर्सलाई नौ विकेटले पराजित गरी प्रतियोगितामा सुखद शुरुआत गरेको हो । खेलमा टस जितेर पोखराले व्याटिङको निम्तो दिएपछि काठमाडौँले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ११५ रनको योगफल तयार गरेको थियो ।
जितका लागि ११६ रनको विजयी लक्ष्य पोखराले शुरुआती ब्याटस्म्यान कुशल भुर्तेलको अर्धशतकीय ६५ रन योगदानको मद्दतले १४ दशमलव एक ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । जम्मा ४३ बल सामना गरेको खेलको ‘म्यान अफ दी म्याच’ भुर्तेलले पाँच छक्का र चार चौका प्रहार गर्दै अविजित रहँदै टोलीलाई पहिलो खेलमा जित दिलाए ।
पोखराका लागि रवीन्द्र सिंहले अविजित रहँदै ३८ रन जोडे भने शुरुआती ब्याट्सम्यान आशिफ शेख शुसान भारीको बलमा एलविडब्लु हुँदै १४ रन जोडेर पेभिलियन फर्किए । काठमाडौँका लागि सुवोध भाटीले सर्वाधिक ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सर्वजीत लड्डाको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले २९ बलमा चार चौका र चार छक्कासहित ४५ रन बनाएका थिए ।
पोखराका रशियो खान, ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई तथा सर्वजित लड्डा तथा प्रथमेश ढाकेल एक÷एक विकेट लिएका थिए । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगिताका विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् । ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीको सहभागिता छ । प्रतियोगिताअन्तर्गत सोमबार विराटनगर टाइटन्स र धनगढी ब्लुजबीच बिहान पहिलो स्पर्धा हुनेछ भने काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्सबीच दोस्रो खेल हुनेछ ।
पोखरालाई खेलकूद राजधानी बनाउने प्रण’ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माछापुच्छ्रे हिमाललाई साक्षी राखेर पोखरालाई खेलकूदको राजधानी शहर बनाउने सरकारले प्रण गरेको बताउनुभएको छ ।
आजदेखि यहाँ शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले प्रकृतिको वरदानको रुपमा रहेको पोखरा समग्र नेपाल तथा एशियाली राष्ट्रको समेत खेलकूद शहरको रुपमा विकास हुन सक्ने सम्भावना औँल्याउनुभयो ।
पोखरालाई पर्यटनका साथै खेलकूद, शिक्षा र स्वास्थ्यको राजधानी बनाउने योजनाअनुसार सरकारले पाँच वर्षभित्रमा खेलकूदको जग बसाल्ने तथा आवश्यक खेल संरचना निर्माण गरेर स्पोर्टस कम्प्लेक्सलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना सुनाउनुभयो । पिपिएलले पोखरालाई चिनाउने काममा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले खेलकूदको विकासका लागि खेलको व्यावसायिकरण, खेल संरचना निर्माण र तल्लो तहबाटनै खेलकूदप्रति आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “खेलको व्यावसायिकरण, खेल संरचना निर्माण र सानो उमेरदेखि नै बालबालिकालाई खेलमा आकर्षित नगर्दासम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा खरो उत्रिन सकिँदैन । विश्वस्तरीय खेलमा स्पर्धा गर्ने लक्ष्य राखिनुपर्दछ ।” उहाँले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्यमा क्रिकेट विकासका कार्य थालनी गरिने उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं नेपाल क्रिकेट सङ्घका पूर्वअध्यक्ष दीपक कोइरालाले खेलकूद खेलसँग मात्र सम्बन्धित नरहेको चर्चा गर्दैै यसका माध्यमबाट आर्थिक समृद्धि हासिल हुने भएकाले खेलकूद राज्यको प्रमुख प्राथमिकताको क्षेत्रमा पर्नुपर्ने बताउनुभयो ।
नेपालले विश्वका अन्य देशहरुसँग स्पर्धा गर्न सक्ने क्षेत्र खेलकूद रहेकाले समेत क्षमतावान खेलाडी उत्पादन गरी राष्ट्रको शीर उच्चो बनाउने कार्यमा सरकारले ध्यान दिनुपर्ने धारणा उहाँको छ । राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरामा आगामी दुई वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्नेका लागि एउटा १३ हजार दर्शक क्षमता र अर्को २० क्षमताका गरी दुई वटा डिपीआर तयार रहेको बताउँदै केही समय भित्रमा नै त्यसको टुङ्गो लगाएर काम शुरु गरिने बताउनुभयो ।
पोखरामा महत्वपूर्ण खेलका अन्तर्राष्ट्रियस्तरका पूर्वाधार निर्माणसँगै उहाँले गण्डकी प्रदेशलाई नै ‘स्पोर्टस हव’को रुपमा विकास गर्न सकिने सम्भावना औँल्याउनुभयो । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्वी लामाले प्रतियोगिताले क्रिकेट खेल प्रतिको आकर्षण बढाउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनसमेत मद्दत पुग्ने भएकाले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास रहेको बताउनुभयो ।
