साग फुटबलको फाइनलमा नेपाल
काठमाडौं, २२ मंसिर: नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।
आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा अग्रता लिएको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् । अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटनसँग खेल्नेछ । ९ अंकसहित दोस्रो स्थानमा रहेको भुटान फाइनलमा पुगिसकेको छ । आजको जितपछि शीर्ष स्थानमा उक्लिएको नेपालको १० अंक भएको छ ।
पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो ।
खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् ।
नेपालले समूह चरणमा भुटानलाई ४-० गोलले हराएको थियो। दोस्रो खेलमा नेपालले श्रीलंकासँग १-१ गोलको बराबारी खेलेको थियो। तेस्रो खेलमा शनिबार नेपालले माल्दिभ्सलाई २-१ गोलले हरायो।
बंगलादेशलाई हराएपछि नेपालका प्रशिक्षक बालगोपाल मर्हजनले अब भुटानलाई फेरि एक पटक हराएर स्वर्ण जित्ने विश्वास व्यक्त गरे । ‘हामी लिगमा अपराजित एक्लो टिम हौं । अब हामी फाइनलमा पनि भुटानलाई जित्दै स्वर्ण जित्न चाहन्छौं’ ।
भारतमा भएको सागको अघिल्लो संस्करणमा पनि पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको थियो। आयोजक भारतमाथि २-१ गोलको जित निकाल्दै नेपाल स्वर्ण लिएर घर फर्किएको थियो।
