साग: पुरुष फुटबलमा नेपालको विजयी शुरुवात
काठमाडौँ, १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गर्नुभयो । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेको थियो ।
खेलको पाँचौँ मिनेटमा कप्तान सुजलले पहिलो गोल गर्नुभएको थियो । खेलको ५१औँ मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसपछि नेपालका लागि ६६औँ मिनेटमा अभिषेकले तेस्रो तथा खेलको ७८औँ मिनेटमा मिक्छेनले चौथो गोल गर्नुभएको थियो ।
बङ्गलादेश र माल्दिभ्सको बराबरी
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेश र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका हुन् । । खेलको ३०औँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले आत्मघाती गोल गरेपछि बङ्गलादेश १–० गोलको स्थितिमा पुगेको थियो । खेलको ७०औँ मिनेटमा माल्दिभ्सका इब्राहिम महोदीले गोल गरी १–१ को बराबरीमा पु¥याए । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।
