वाम एकताले राष्ट्रिय सन्देश दिएको छ : अध्यक्ष दाहाल

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ वुर्तिवाङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव विष्णु पौडेल संयुक्त चुनावी सभामा । तस्वीर: खेमराज गौतम, गण्डकी प्रदेश

गलकोट, ७ मङ्सिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको बताउनुभएको छ ।

नेकपा र राष्ट्रिय जनमोर्चाले आज बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा उपनिर्वाचनका लागि आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश गएको बताउनुभएको हो ।

“नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “अब कम्युनिष्टहरु फुटेर होइन, जुटेर अगाडि बढेको सन्देश वाम गठबन्धनले दिएको छ ।”

“एकताको प्रतीकका रुपमा बागलुङको वाम गठबन्धनलाई हेर्न सकिन्छ”, भन्दै उहाँले केन्द्रले दिएको जिम्मेवारीअनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्यधिक मतले साझा उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन आग्रह गर्नुभयो । उपस्थित नेता–कार्यकर्ताकको उत्साहलाई देखेर आजै निर्वाचन जितेजस्तै भएको महसुस भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ वुर्तिवाङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष चित्रबहादुर केसी । तस्वीर: खेमराज गौतम, गण्डकी प्रदेश

फरक प्रसङ्गमा उहाँले अहिले भारतले मिचेको भूमि नेपालकै भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्दै सरकारले सीमा समस्या समाधान गर्ने बताउनुभयो । अध्यक्ष दाहालले विकासमा पछाडि परेको बागलुङको पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्र, सालझण्डी–ढोरपाटन सडकले पूर्णता र उत्तरगङ्गा जलाशय जलविद्युत आयोजनाले गति लिने बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा ऊर्जामन्त्रीसँग तत्काल छलफल गरी निष्कर्ष निकाल्ने बताउनुभयो ।

अध्यक्ष दाहालले बुर्तिवाङ लाम्मेला सडक कालोपत्र गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो । बागलुङ क्षेत्र नं २ को (ख) बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीको निधनपछि यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यसअघिको निर्वाचनमा तत्कालीन (एमाले), (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारका रुपमा घर्तीलाई विजयी गराएको थियो । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट शाहीले उम्मेदवारी दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताउनुभयो । बुर्तिवाङमा आयोजना गरेको संयुक्त चुनावी सभामा नेता पौडेलले अघिल्लो चुनावमा नेकपालाई जनताले दिएको मतलाई अहिलेको उपनिर्वाचनले पुनः पुष्टि गर्ने बताउनुभयो ।

नेता पौडेलले ढोरपाटनलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने भन्दै त्यसका लागि नेकपाको सरकारले सकारात्मक पहल गर्ने बताउनुभयो । उहाँले नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रलाई नेपालकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो । नेता पौडेलले बागलुङ पश्चिम क्षेत्रको विकासको जिम्मा वाम गठबन्धनलाई दिन मतदातालाई आग्रह गर्नुभयो ।

सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीले आफै उत्पादन गरी स्वाभिमानी नेपाली बन्न आग्रह गर्नुभयो । उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा देखाएको अडानका कारण अघिल्लो सरकारमा आफू समावेश भएको बताउनुभयो ।

अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट खिमविक्रम शाहीले उम्मेदवारी दिनुभएको छ ।

संयुक्तसभामा नेकपा स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.