भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि

काठमाडौँ, २८ कात्तिक : नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपाधि हासिल गरेको छ । नेपालले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा आज सम्पन्न फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० सेटमा हराउँदै उपाधि हात पारेको हो ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालले पहिलो सेट २५–१३ अङ्कले जितेको थियो । त्यस्तै दोस्रो सेट २५–१२ अङ्कले तथा तेस्रो सेट २५–८ अङ्कले जित्दै उपाधि चुमेको हो । महिला भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनुभयो ।

यसअघि नेपाली भलिबलले जितेको ठूलो अन्तर्राष्ट्रिय पदक रजत थियो । महिला भलिबल टोली सन् २०१४ मा काठमाडौँमा सम्पन्न दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा दोस्रो भएको थियो । नेपालले लिग चरणको खेलमा माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र बङ्गलादेशलाई पराजित गरेको थियो ।

उपराष्ट्रपतिद्वारा महिला भलिबल टिमलाई बधाइ

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जित्न सफल भएकामा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाइ दिँदै खुसी व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले महिला भलिबलमा देशले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हासिल गरेकामा राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडी र सम्पूर्ण नेपालीलाई बधाइ दिनुभएको छ । उहाँले बङ्गलादेशमा आज सम्पन्न एभिसी सेन्ट्रल जोनमा इतिहास रचेर सारा नेपालीलाई खुसी दिएकामा नेपाल भलिबल सङ्घ, राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही र सदस्यहरुप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले प्रतियोगिताको उत्कृष्ट स्पाइकर चुनिनुभएका प्रतिभा माली र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई बधाइसहित धन्यवाद दिनुभएको छ । उहाँले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुसी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको बताउनुभएको छ ।

निकट भविष्यमा घरेलु मैदानमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले भलिबललगायत सबै विधामा उत्कृष्ट प्रदर्शनसहित उपाधि जित्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षणसमेत गराउनु भएको उपराष्ट्रपति पुनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.