हुलाक सेवालाई प्रविधिमैत्री बनाइने

काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको हुलाक सेवालाई पूर्वाधारयुक्त एवं आधुनिक प्रविधिमैत्री बनाउने बताउनुभएको छ ।

विश्व हुलाक सङ्घको दोस्रो असाधारण कङ्ग्रेसमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको उच्चतम प्रयोग गरी हुलाक सेवाको पूर्वाधार विकासमा लगानी अभिवृद्धि गर्ने बताउनुभयो ।

सम्मेलन इथियोपियाको आदिस अबाबामा यही भदौ १८ देखि २२ गतेसम्म आयोजना भएको थियो । सम्मेलनका क्रममा नेपालको तर्फबाट हुलाक क्षेत्रले भोगेका समस्या, नयाँ प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा घट्दो राजश्वलाई कसरी वृद्धि गर्ने भन्नेबारे जोडदार कुरा उठाएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घको १४४ वर्ष लामो इतिहासमा ४० वर्षपछि केही मुख्य मुद्दामा सर्वसम्मतिले समझदारी भएको छ । नयाँ प्रविधिका कारण हुलाक क्षेत्रका समस्या कसरी सम्बोधन गर्ने र यसको विविधिकरण गरी हुलाक सेवालाई प्रविधिमैत्री बनाउने तथा सम्बन्धित देशले भोगेका समस्याको समाधानका विषयमा पनि भलफल भएको छ ।”

कङ्ग्रेसको मन्त्रीस्तरीय सत्रमा सञ्चारमन्त्री बास्कोटाले सम्बोधन गर्नुहुँदै हुलाक क्षेत्रमा भइरहेको परिवर्तन, भोग्नुपरेको समस्या, प्रविधिमा आएको परिवर्तनले ल्याएको अवसर तथा विश्व हुलाक सङ्घले गर्ने गरेको निर्णयप्रति नेपालको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

साथै, नेपालमा हुलाक सेवामा गर्नुपर्ने सुधार तथा भोग्नुपरिरहेको समस्याबारे उल्लेख गर्दै हुलाक सेवाको विकासबाट नेपालले लिएको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली प्राप्त गर्न सघाउ पुग्नेमा सञ्चारमन्त्रीको विश्वास थियो ।

सो अवसरमा सञ्चारमन्त्री बाँस्कोटा र विश्व हुलाक सङ्घका महानिर्देशक विशार ए हुसेनबीच शिष्टाचार भेटवार्ता भएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, सङ्घले हुलाक प्रशासनमा समयसापेक्ष सुधारका लागि गर्दै आएको सत्प्रयासका निम्ति महानिर्देशकलाई धन्यवाद दिँदै मन्त्री बाँस्कोटाले नेपालको हुलाक सेवाको आधुनिकीकरणमा सङ्घको सद्भावको अपेक्षा गर्नुभएको थियो ।

सञ्चारमन्त्री बाँस्कोटाले सोही कङ्ग्रेसमा जापानी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका जापानको आन्तरिक मामिला तथा सञ्चार उपमन्त्री कात्सुया वातानाबेबीच भेटघाट भएको थियो । भेटको क्रममा नेपाल र जापानबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध र सञ्चारका क्षेत्रमा हुनसक्ने सहयोगका बारेमा कुराकानी भएको थियो । विशेषतः जापानको हुलाक सेवाले प्राप्त गरेको लोकप्रियता र उपलब्धिबाट नेपालले हुलाक प्रशासनमा कस्तो सुधार गरेर अघि बढ्न सकिन्छ भन्नेबारे कुराकानी भएको थियो ।

मन्त्री बाँस्कोटाले नेपालको सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा जापानसँग सहकार्य गर्न इच्छा व्यक्त गर्नुभएको थियो भने जापानी उपमन्त्रीले नेपालसँग हुलाक सुधारलगायतका सबै क्षेत्रमा सँगसँगै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । उक्त अवसरमार मन्त्री बाँस्कोटाले जापानी उपपन्त्रीलाई उपयुक्त समयमा नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभएको थियो ।

जापान र भियतनामले हुलाक क्षेत्रमा सहयोग गर्ने बचन दिएकाले यो क्षेत्रमा केही परिवर्तनको सम्भावना देखिएको मन्त्री बाँस्कोटाको भनाइ छ । विश्व हुलाक सङ्घको सम्मेलनमा अहिलेसम्म मन्त्रीस्तरको सहभागिता नरहेको र नेपालले सङ्घमा आवद्धता भएको ५६ वर्षे इतिहासमा पहिलो पटक मन्त्रीस्तरीय सहभागिता जनाएको हो । विसं २०१३ मा नेपाल सङ्घको सदस्य भएको थियो । सम्मेलनमा ३५ देशका मन्त्री १४२ देशका प्रतिनिधिमण्डल र १९२ सदस्य राष्ट्रको उपस्थिति थियो ।

सम्मेलनका यी उपलब्धि 

चालीस वर्षको इतिहासमा प्रथम पटक सर्वसम्मत रूपमा विश्व हुलाक सङ्घको सुधारका लागि सङ्घको प्रभावकारिता बढाई थप सशक्त र सबल बनाउन सदस्य राष्ट्रहरूबीच सहमति भएको छ ।

सङ्घको दिगो र सहज सञ्चालनको लागि स्थायी र भरपर्दो योगदान नीति (सदस्य राष्ट्रहरूले वार्षिकरूपमा तिर्नुपर्ने सदस्यता शुल्क) तर्जुमा गर्ने क्रममा थप अध्ययन र परिमार्जनका साथ आइभरीकोष्टमा सन् २०२० मा हुने यूपियु कङ्ग्रेसमा प्रस्ताव पारित गर्ने सहमति भएको छ ।

न्यून आय, दुई लाखभन्दा कम जनसङ्ख्या तथा अल्पविकसित राष्ट्रका लागि बेग्लै किसिमको योगदान नीति बनाउने सहमति भएको र यो प्रस्ताव लागू हँुदा हालसमम १४ साना देशले फाइदा लिनसक्ने मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो ।

आर्थिक सम्पन्नता बढी भएका मुलुकले सङ्घमा बढी योगदान गर्ने र कमजोर मुलुकको योगदान घटाउने सहमति भएको छ । चालीस वर्षपछि नेपालको सशक्त उपस्थिति रहेको सम्मेलनमा नेपालसहित १६ देशका मन्त्रीले धारणा राख्नुभएको थियो ।

नेपालको हुलाक प्रशासन सुधार गर्न विश्व हुलाक सङ्घले प्राविधिक सहयोग गर्ने गरी यूपियुका महानिर्देशकसँगको वार्ताबाट सहमति भएको छ । यसै सन्दर्भमा जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका उपमन्त्री र भियतनामका सूचना तथा सञ्चार मन्त्रालयका उपमन्त्रीसँगको बेग्लाबेग्लै वार्तामा नेपालको हुलाक प्रशासनमा सुधारका लागि आवश्यक सहकार्य र सहयोग गर्ने गरी सहमति बनेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.