घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइयो

बडादशैँको सातौँ दिन गोरखादरवारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकामा भित्रयाइँदै । तस्वीर: नवीन पौडेल

काठमाडौँ, १८ असोज : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

बडादशैँको सातौँ दिन गोरखादरवारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकामा भित्रयाइँदै । तस्वीर: नवीन पौडेल

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तीका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा गौतमले राससलाई जानकारी दिनुभयो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ । दशैँ मनाउन राजधानीमा विभिन्न पेशा र व्यवसायमा संलग्न भई बस्दै आएका धेरै मानिस आफ्नो थातथलो फर्किएका छन् । उपत्यका सुनसान देखिन थालेको छ । सडकमा कमै सवारी गुडेका छन् । कतै जान निस्किएका यात्रु सवारी नपाएको भनी गुनासो गरेका छन् ।

हनुमानढोकामा फूलपाती भित्र्याइयो

बडादशैँको सातौँ दिन आज हनुमानढोकास्थित दशैँघरमा फूलपाती धार्मिक विधिपूर्वक भित्र्याइएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको व्यवस्थापनमा गुर्जुको पल्टन, पञ्चेबाजाका साथमा सुरक्षाकर्मीसहित टोलीले आज गोरखाबाट जमलमा ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको हो ।

फूलपाती भित्र्याउने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसहित निजामती सेवाका कर्मचारी र विभिन्न देशका कूटनीतिज्ञको सहभागिता थियो ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पुजारीले र जीवनपुरबाट जमल ९त्रिचन्द्र क्याम्पस परिसर० सम्म काठमाडौँबाट गएका प्रतिनिधिले फूलपाती ल्याउने चलन छ । निकै रमाइलो देखिने उक्त समारोहमा नेपाली सेनाले तोप पडकाएर हर्षबढाइ समेत गरेको थियो ।

शुभ साइतको प्रतीकका रुपमा केराको बोट, दारिम, धानको बाला, हलेदो, मानवृक्ष, उखु, बेलपत्र, अशोकको फूल र जयन्तीलाई भित्र्याइन्छ । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको प्रतिकका रुपमा पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.