राप्रपाले समितिको सिफारिसमा केन्द्रले उम्मेदवार तोक्ने
काठमाडौँ, २ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनै तहमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरी सिफारिस गर्न यही असोज १५ गतेसम्मको समयसीमा निर्धारण गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा हुने निर्वाचनमा उम्मेदवार छनोट गर्न प्रदेश कार्य समिति र सम्बन्धित जिल्लाको सिफारिसमा केन्द्रले निर्णय गर्ने जिम्मवारी दिएको छ । स्थानीय तहको हकमा मेयर, अध्यक्ष, उपाध्यक्ष छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले र वडाध्यक्षको हकमा गाउँपालिका वा नगरपालिका कार्य समितिको सिफारिसमा जिल्ला कार्य समितिले निर्णय गर्ने गरी जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।
सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्रको विकास गर्न, राजनीतिक मतभेद छोडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा अल्पसङ्ख्यकको सुरक्षा र बहुसङ्ख्यकको सम्मानको सिद्धान्तअनुरुप धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्न सबै राजनीतिक शक्तिलाई पार्टीले आग्रह गरेको छ । पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष थापालाई जिम्मेवारी दिने गरी केही विभाग र प्रदेश इञ्चार्ज हेरफेर गरेको छ ।
