पृथ्वी प्रज्ञा–पुरस्कार सत्यमोहनलाई

काठमाडौँ, ३१ भदौ : नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा चार/चार वर्षमा प्रदान गरिँदै आएको गहन महत्वको पुरस्कार ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ २०७६/७८ का लागि वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

पुरस्कारको राशि रु चार लाख रहेको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याले जानकारी दिनुभयो । आज सम्पन्न ३४औँ प्राज्ञसभाले उक्त निर्णय गरेको हो । प्रतिष्ठानले प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिकशास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा डा त्रिरत्न मानन्धरलाई, नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार २०७५/७६ का लागि प्रा डा टङ्कप्रसाद न्यौपानेलाई, प्रत्येक एक/एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ का लागि मदन रेग्मीलाई, २०७६ का लागि भागिरथी श्रेष्ठलाई, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य)लाई, २०७६ का लागि अमृत योञ्जन तामाङलाई, तराई मधेशमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य)लाई, २०७६ का लागि अशोक थारू (थारू, भाषा–साहित्य)लाई प्रदान गरिने भएको छ । यी पुरस्कारको राशि नगद रु एक/एक लाख छ ।

प्रतिष्ठानले अन्य तीन नयाँ पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार, यसैगरी नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिइने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ ।

यी पुरस्कारको राशि नगद रु एक/एक लाख रहनेछ । यसरी नै अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वानलाई तीन/तीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ । बैठकले चालू आवका लागि नीति, योजना तथा कार्यक्रम पारित र विनियोजित रु २३ करोड सात लाख ३३ हजार रकम बजेट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.