काङ्ग्रेस सांसदहरुको विरोधपछि प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौँ, २९ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगन भएको छ । काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको ‘जागरण अभियान’का क्रममा बाँकेको खजुरामा भदौ २६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले काङ्ग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी हात भाँचिदिएको भन्दै काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो ।
आजको पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिनुभएको जवाफ चित्त नबुझेपछि काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगन गर्नुभएको थियो । स्थगन गरिएको बैठक करीब दुई घण्टापछि शुरु भएको थियो । सभामुख महराले दोस्रो बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । बाँके घटनाका दोषीको किटान गरी दिएको उजुरी दर्ता नभएको, घटनाका दोषीलाई गृह प्रशासन नै बचाउन लागेको आरोप काङ्ग्रेस सांसदहरुले लगाउनुभएको थियो ।
दोस्रो बैठक पनि चल्न नसकेपछि सभामुख महराले भदौ ३० गते शनिबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगन गर्नुभयो ।
राष्ट्रियसभाको बैठक अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेको छ । काङ्ग्रेस सांसदहरुले भदौ २६ गते बाँकेमा भएको घटनाबारे दिइएको जाहेरी दर्ता गर्नुपर्ने माग गर्दै शुरुआतमै उठेर बैठक अवरुद्ध गरेका हुन् ।
काङ्ग्रेस सांसद बद्रीप्रसाद पाण्डेले बाँके क्षेत्र नं ३ प्रदेशसभा ‘ख’अन्तर्गत पर्ने खजुरा गाउँपालिका काङ्ग्रेसले सञ्चालन गरेको हिमाल, पहाड, तराई, मधेश नेपाली राष्ट्रिय जागरण अभियान कार्यक्रम सीतापुरमा भदौ २६ गते चलिरहेका बेला खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्ल नेतृत्वको समूहले काङ्ग्रेस जिल्ला सभापति किरण कोइरालामाथि साङ्घातिक आक्रमण गरेकाले जाहेरी नलिएसम्म काङ्ग्रेसले संसद् अवरुद्ध गर्ने बताउनुभयो ।
उहाँले घटनाबारे गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि पीडितले जाहेरी गर्न खोज्दा दर्ता नभएको र अहिलेसम्म पनि मुख्य अभियुक्तलाई पक्राउ नगरिएकामा आपत्ति जनाउनुभयो । “किटानी जाहेरी दर्ता गरियोस् । लोकतान्त्रिक पार्टीमाथि आक्रमण भएको छ । यो योजनाबद्ध घटना हो । घटनाप्रति सरकार गम्भीर छैन”, उहाँले भन्नुभयो ।
सांसद राधेश्याम अधिकारीले सरकारले अहिलेसम्म पनि जाहेरी दर्ता गरेको छैन तपाई कसरी कारवाही गर्नुहुन्छ ? भन्दै गहृमन्त्री थापालाई प्रश्न गर्नुभयो । सांसद अनिता देवकोटाले नेकपाको सरकार भएकाले कानून लाग्ने हो वा होइन भन्दै सरकारलाई प्रश्न गर्नुभयो । सांसद सुरेन्द्र पाण्डेले पीडितको तर्फबाट दिइएको जाहेरी अस्वीकार गर्नु लोकतन्त्र विरोधी भएको टिप्पणी गर्नुभयो ।
