आक्रमणकारी माथि कारवाही नभए संसद् अवरुद्ध गर्ने देउवाको चेतावनी
नेपालगञ्ज, २८ भदौ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आप्mना पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ ।
नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नु भयो, “सरकारले घटनाका दोषीहरुलाई कानूनी दायरामा नल्याएसम्म आप्mनो दल चुप लागेर बस्दैन ।” बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्नेहरु लोकतान्त्रिक व्यवस्थाका हिमायती हुनै नसक्ने भन्दै सभापति देउवाले त्यस्ता व्यक्तिलाई कसैले काँखी च्याप्छ भने त्यसका विरुद्ध पनि काङ्ग्रेस देशव्यापी विरोधमा उत्रने छ भन्नुभयो ।
उहाँले शान्तिपूर्ण तरिकाले आफ्नो कार्यक्रम गरिरहेका बेला पार्टी सभापतिसहित अन्य नेता कार्यकर्तामाथि आक्रमण हुनु निन्दनीय भएको बताउनुभयो । जनताको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासन असफल भएको भन्दै सभापति देउवाले भन्नु भयो, “भ्रष्टाचार विरुद्ध बोल्दा काङ्ग्रेसका नेता, कार्यकर्ता कुटिनु लज्जाको विषय हो ।”
बाँके पार्टी सभापति कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जनजागरण कार्यक्रमका केन्द्रीय सदस्य किशोरसिंह राठौर, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायतका स्थानीय नेताहरुले पनि बोल्नुभएको थियो । आजै दिउँसो काङ्ग्रेसले नेपालगन्ज बिपी चोकमा मैनबत्ती बालेर सरकार, सत्तारुढ दल नेकपा र प्रहरी प्रशासन विरुद्ध सांकेतिक विरोध गरेको छ । दिउँसै अन्धकार पारेर जनतामा भ्रम छर्ने तथा राजनीतिक घटनालाई व्यक्तिगत भन्दै आफ्नो अराजक क्रियाकलापको बचाउ गर्नेहरुलाई दिउँसै मैनबत्ती बालेर उज्यालो देखाएको काङ्ग्रेसको भनाइ छ ।
नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनु भएका बाँके सभापति कोइरालालगायत काङ्ग्रेस कार्यकर्तामाथि नेकपा समर्थितहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए ।
आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाच्चिएको छ । यता घटना बारे प्रतिक्रिया जनाउँदै नेकपा बाँकेका अध्यक्ष एवं प्रदेश नं ५ का सांसद आइ.पी. खरेलले भन्नुभयो, “काङ्ग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काङ्ग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासी जन्माएको यो दुःखद् घटना मात्र हो । यसलाई अतिरञ्जित बनाइनुहुँदैन ।”
काङ्ग्रेसले घटनामा संलग्न भनि १० जनाको नामसहितको जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अहिलेसम्म तीन जनालाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।
गुण्डागर्दी गर्नेलाई कारवाही गर्नुपर्छ
‘जागरण अभियान’ अन्तर्गत कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा उहाँले केही दिन अघि बाँकेको खजुरामा नेपाली काङ्ग्रेसले गरेको जागरण अभियान कार्यक्रममा केही व्यक्तिले प्रवेश गरेर गुण्डागर्दी शैलीमा आक्रमण गरी अप्रजातान्त्रिक गतिविधि मच्चाउनेलाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसंग माग गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले सो आक्रमणमा काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने व्यक्तिका विरुद्धमा जाहेरी दिँदा पनि प्रहरीले यो घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउनुभयो ।
“यदि प्रशासनले यो घटनालाई गम्भीरतापूर्वक नलिए राजनीतिक आडमा अप्रजातान्त्रिक गतिविधि गर्ने तत्वलाई ठेगान लगाउन काङ्ग्रेस तयार छ”, उहाँले भन्नुभयो, “प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व बहन गर्नतर्फ लाग्नुपर्छ ।”
सभापति देउवाले जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ भन्दै बाँके घटनामा संलग्नलाई कारवाही नभएसम्म काङ्ग्रेस कडा रुपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिनुभयो ।
सो घटनाका सम्बधमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।
