सवारी विधेयक सर्वसम्मतिले पारित 

विराटनगर, २६ भदौ : प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा पेश गर्नुभएको थियो ।

संशोधनकर्ता सावित्राकुमारी रेग्मी, श्रीप्रसाद मैनाली, राजन राई र शिवनारायण गनगाईंले संशोधन प्रस्ताव स्वीकार गरेका बाहेकका अन्य संशोधन प्रस्ताव फिर्ता लिनुभएपछि सो विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम न्याय प्रशासन विधायन समितिका सभापति इन्द्रमणि पराजुली र सोही नियमावलीको नियम १०५ बमोजिम अर्थ समितिका सभापति मोहनकुमार खड्काले वार्षिक प्रतिवेदनसहित ‘सार्वजनिक निजी साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सभामा पेश गर्नुभयो ।

अल्पसङ्ख्यक आठ पहरे जातिको सूचीकृत हुनुपर्ने    

यसअघि प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य लीला सुब्बाले धनकुटामा लगभग १० हजारका सङ्ख्यामा रहेका आठ पहरे जातिले मान्यता पाएमा पर्यटन वर्ष २०२० का लागि उपयोगी हुने बताउनुभयो । उहाँले यो जातिको आफ्नै भाषा, संस्कृति र वेषभूषा भएकाले पर्यटनलाई लोभ्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सदस्य उमिता विश्कर्माले सरकारी वा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य नारायणबहादुर मगरले उदयपुरको दक्षिणी भूभाग पछिल्लो नाप नक्सामा प्रदेश नं २ मा गएको र त्यस क्षेत्रका जनता प्रदेश नं १ मै बस्न रुचाएकाले सो परिमार्जन गर्न प्रदेश सरकारसँग माग गर्नुभयो । सदस्य राजन राईले प्रदेश नं १ मा हुने चलचित्र महोत्सवमा कम लगानीमा बनेका नेपाली चलचित्र र अत्यधिक लगानीमा बनेका हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्न समस्या हुने बताउनुभयो ।

सदस्य सञ्जाकुमारी दनुवारले प्रदेशभरिमा सरकारी स्वामित्वमा रहेका जग्गा अतिक्रमण भइरहेकाले यसलाई नियन्त्रण एवं रोकथाम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही भदौ २७ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.