संरक्षणको पर्खाइमा जैमिनि ऋषिको तपोभुमी जैमिनि घाट
अखण्ड जैसी, १८ भदौ । काठमाडौं । बागलुङको जैमिनि नगरपालिका–१, कुश्मिसेरामा पर्ने जैमिनि घाटलाई संरक्षण गरिने भएको छ ।
यसलाई स्थानिय भाषीहरुले ज्यामिरे घाट पनि भन्ने गरेका छन । हालै मात्र जैमिनि ऋषिको सन्तान अर्थात जैमिनि गोत्रका परिवारको पहिचान र संरक्षण गर्दै आएको विश्व जैमिनि समाज र जैमिनि नगरपालिकाको सक्रियतामा संरक्षण गर्नबारे छलफल भएको छ । जैमिनि नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेल र विश्व जैमिनि समाजका अध्यक्ष टिकाराम आर्य घोडासैनीले जानकारी गराएका छन ।
बागलुङ जिल्ला सदरमुकामदेखि करिब बीस किलोमिटर दक्षिणमा कालीगण्डकीको किनारमा जैमिनिघाट अवस्थित छ । पश्चिमतर्फबाट बगेर आउने ठेउले खोला जैमिनिघाटमा आएर मिसिएको छ । जैमिनिघाटको पूर्वतर्फ पर्वत जिल्लाको देवीस्थान गाविसअन्तर्गतको फलेबास गाउँ रहेको छ भने दक्षिणमा बागलुङ जिल्लाको बिनामारे गाविस पर्दछ । बागलुङदेखि कुस्मी सेरासम्मको कच्ची सडकअन्तर्गत टुनिबोट गाउँबाट करिब बीस मिनेटको ओरालो लागेपछि जैमिनिघाट पुग्न सकिन्छ भने पर्वत जिल्लाको फलेबासको डिलबाट करिब पन्ध्र मिनेट ओरालो झरी पुल तरेर पनि जैमिनिघाटमा पुग्न सकिन्छ । जैमिनिघाट पञ्चायत कालसम्म अमलाचौर गाविसमा पर्दथ्यो भने त्यसपछि जैमिनिघाटलाई कुस्मी गाविसमा समावेश गरिएको थियो ।
स्थानीय तहको पुनः संरचना आयोगले सरकारलाई हालै बुझाएको प्रतिवेदनमा उल्लेख भएअनुसार बागलुङमा चारवटा नगरपालिका एवम् छ वटा गाउँपालिकाको व्यवस्था गरिएको र जैमिनिघाटलाई जैमिनि नगरपालिकामा राखिएको छ । स्थानिय निकायको नयाँ संरचना अनुसार जैमिनि ऋषिका नाममा नामकरण गरिएको जैमिनि नगरपालिकाले निश्चय नै जैमिनिघाटको मात्र होइन समग्र त्यस क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने कुरामा आशा पलाएको छ ।
जैमिनिघाटको नामकरण तथा स्वरुप
जैमिनि ऋषिले योगसाधना र तपस्या गरेको घाट भएकाले यसलाई जैमिनिघाट भनिएको हो । संस्कृतको ‘घट्ट’ शब्दले नदीको किनारलाई बुझाउँछ र त्यही घट्ट शब्दबाट नेपालीमा घाट शब्द विकसित भएको हो । जुनसुकै नदीको किनार वा घाटलाई तीर्थस्थल मानिन्छ । जैमिनि ऋषिको तपस्याका बलले अझै पवित्र बनाइएको तीर्थस्थल भएकाले जैमिनि ऋषिकै नाम जोडेर यसको नाम ‘जैमिनिघाट’ नामकरण गरिएको हो । स्थानीय रूपमा धेरैले यसलाई ‘ज्यामिरघाट’ पनि भन्न रुचाउछन् । ‘ज्यामिर’ शब्दले फलविशेषलाई बुझाउँछ । ज्यामिर फल्ने वा ज्यामिर पाइने घाट भनेर यसलाई ज्यामिरघाट भनिएको होइन । जैमिनिघाट शब्द नै अपभ्रंश भएर ज्यामिरघाट बन्न पुगेको हो ।
पश्चिम दिशाबाट बग्दै आएको ठेउले खोला र पूर्वोत्तर दिशाबाट बग्दै आएको कालीगण्डकीको संगमस्थलदेखि करिब सय मिटर उत्तरतर्पm कालीगण्डकीको किनारमा दुईवटा शिला छन् । तीमध्ये एउटा शिला विशाल छ । त्यो शिला शङ्खको जस्तो आकारको छ अनि त्यसमा शङ्खको जस्तै प्वाल पनि छ । शङ्ख फुक्न अत्यन्त सिपालु मान्छेले त्यस शिलाको प्वालमा मुख राखेर फुक्ता त्यसको ध्वनिले पहाड नै थर्किएको जस्तो हुन्छ । शङ्खजस्तो भएका कारण त्यस ढुङ्गालाई स्थानीय बासिन्दाले ‘शङ्खेढुङ्गा’ भन्दछन् । शङ्खेढुङ्गाको करिब सात मिटर पश्चिम दिशामा अवस्थित पहराको आडमा अर्को शिला छ ।
जैमिनि ऋषिले तपस्या गर्दा बसेको आसनजस्तो आकार शिलामा स्पष्ट देखिएकाले त्यसलाई ‘जैमिनि शिला’ भन्ने गरिन्छ । त्यसको दक्षिणतर्फ ‘देवशिला’ अवस्थित छ जसलाई स्थानीयवासीले ‘देउढुङ्गा’ भन्ने गर्दछन् । त्यसको उत्तरतर्पm पहरामा एउटा कुटी छ, जसलाई जैमिनि कुटी भनिन्छ । त्यस कुटीभित्र एउटा कुनामा पूजा गर्ने मण्डप छ, जसमा कालीगण्डकीकै किनारमा पाइने शालिग्राम राखिएको छ । स्थानीय किंवदन्तीअनुसार प्राचीन कालदेखि नै त्यस मण्डपमा शालिग्रामको नियमित पूजा गरिँदै आए पनि केही वर्षदेखि त्यसले निरन्तरता पाउन सकेको छैन ।
दाह संस्कार स्थलका रूपमा जैमिनिघाट
बागलुङ जिल्लाको दक्षिणी भेक र पर्वत जिल्लाको उत्तरी भेकका करिब एक दर्जन गाविसमा बसोबास गर्ने व्यक्तिहरूको दाह संस्कार गर्ने स्थलका रूपमा पनि जैमिनिघाट सुप्रसिद्ध छ । यस क्षेत्रमा मानिसको मृत्यु भएपछि एकोहोरो शङ्ख फुक्ने चलन छ । यसरी एकोहोरो शङ्ख फुक्ता छिमेकीहरूले तत्काल मृत्युको सूचना पाउँछन् । त्यसका साथै शवलाई लिएर दाह संस्कार स्थलसम्म पुग्दा पनि एकोहोरो शङ्ख फुकिन्छ र मलामीको गन्ती गर्दा त्यसरी फुकिएको शङ्खलाई पनि गन्ती गरिन्छ । यस क्षेत्रमा कसैलाई अत्यन्त नराम्रोसँग गाली गर्नुप-यो भने ‘तेरो टाउको शङ्खेढुङ्गामा सेलाउन परोस भनिन्छ । जैमिनिघाटमा दाह संस्कार गर्ने मृतकको शिरलाई शङ्खेढुङ्गामा सिरान बनाइन्छ । शङ्खेढुङ्गाको प्वालमा फुक्ता दोहोरो शङ्ख बजाउन नसकिने र एकोहोरो शङ्ख बजेजस्तो आवाज निस्कने भएकाले त्यसलाई अशुभ मानेर त्यस भेकमा सर्वप्रथम एकोहोरो शङ्ख फुक्ने चलन चलेको हुनसक्छ, जुन प्रचलन पछि आएर क्रमशः नेपालका अधिकांश भागमा फैलिएको अनुमान गर्न सकिन्छ । प्रारम्भमा खसआर्यहरूमा मात्र सीमित रहेको एकोहोरो शङ्ख फुक्ने चलन क्रमशः अनार्यहरूमा पनि विस्तार हुनगएको देखिन्छ ।
जैमिनिघाटको धार्मिक तथा सांस्कृतिक महत्व
जैमिनिघाट त्यस भेकको महत्त्वपूर्ण तीर्थस्थल भएकाले जुनसुकै धार्मिक चाडपर्वका अवसरमा त्यहाँ गङ्गास्नान गर्नेहरूको भीड लाग्ने गर्छ । प्रत्येक माघ सङ्क्रान्तिका अवसरमा कालीगण्डकीको किनारमा अवस्थित रिडीमा जस्तै जैमिनिघाटमा पनि भक्तालु जनहरूको तीन दिनसम्म मेला लाग्ने गर्दथ्यो । बागलुङ र पर्वतबाट मात्र होइन कास्की, स्याङजा र गुल्मीबाट समेत जैमिनिघाटमा माघे सङ्क्रान्ति मेला भर्न आउनेहरूको घुइँचो लाग्दथ्यो । माघे सङ्क्रान्ति मेला लागिरहेकै बेलामा करिब पच्चीस वर्षअघि अज्ञात व्यक्तिद्वारा प्रहरी इन्स्पेक्टरलाई छुरी हानेर हत्या गरिएपछि असुरक्षाकै कारण जैमिनिघाटमा माघे सङ्क्रान्तिका बेलामा मेला लाग्न छाडेको हो । बाला चतुर्दशीका दिनमा पनि जैमिनिघाटमा शतबीज छर्ने मान्छेहरूको भीड लाग्थ्यो । पहिला पहिलाजस्तो भीड लाग्न छाडे पनि माघे सङ्क्रान्ति, बाला चतुर्दशी र ठूली एकादशीका अवसरमा जैमिनिघाटमा भक्तजनहरूको जमघट हुँदै आएको पाइन्छ ।
जैमिनिघाटको धार्मिक र सांस्कृतिक महत्त्वलाई जनसमक्ष पु¥याउने उद्देश्यले २०४२ सालमा योगी नरहरिनाथको सक्रियतामा स्याङजाका कमलाकान्त सुवेदीको प्रमुख वाचकत्वमा शिवपुराण महायज्ञ सञ्चालन गरिएको थियो । त्यसको यज्ञशेषबाट जैमिनिघाटमा सोही वर्ष वेद र वेदाङ्गका विषयहरू पठनपाठन गर्ने उद्देश्यले जैमिनि संस्कृत पाठशाला’को स्थापना गरिएको थियो, जुन पाठशाला केही वर्षपछि स्थानान्तरण भएर बागलुङ दमेकको शिवपुरीमा हालसम्म सञ्चालन हुँदै आएको छ । योगी नरहरिनाथको यसै अभियानबाट प्रेरित भएर स्वदेश तथा विदेशमा रहेका स्थानीय व्यक्तिहरूको सत्प्रयासमा जैमिनिघाटमा जैमिनि ऋषिको मूर्ति र शिवको मन्दिरसमेत स्थापना भएका छन् । विगतमा झैं वर्तमानमा पनि जैमिनिघाटमा भक्तजनहरूको आकर्षण बढाउन यथोचित सुरुक्षा प्रबन्ध मिलाउनुका साथै यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व बुझाउने खालका थप कार्यक्रमहरू बेला बेलामा सञ्चालन गरिनु आवश्यक छ ।
जैमिनीश्वर महादेवको मन्दिर
जैमिनिघाटमा रहेको मन्दिरलाई जैमिनीश्वर महादेवको मन्दिर भनिन्छ । यसको स्थापना वि.सं. १९९० तिर भएको र यसको जीर्णोद्धार भने २०१६ सालतिर भएको अनुमान गरिन्छ । जागिरका सिलसिलामा भारतको मद्रासमा रहेका त्यस भेकका केही भक्तजनहरूको सक्रियतामा अर्थसङ्कलन गरी २०४१ तिर स्थानीय व्यक्तिहरूको श्रमदानसमेत प्राप्त गरेर जैमिनीश्वर महादेव मन्दिरको वर्तमान स्वरूप खडा भएको हो । यस मन्दिरको दैनिक पूजाखर्च र पुजारीको जीवनवृत्तिका लागि बिनामारे गाविसको वडा नं. १ मा करिब सात मुरी धान फल्ने खेत मन्दिरका नाममा दर्ता गरिएको छ । विशेषतः महाशिवरात्रीका अवसरमा यस मन्दिरमा दर्शनार्थीहरूको ठूलो भीड लाग्ने र २४ घण्टा अखण्ड कीर्तनसमेत हुने गरेको छ ।
जैमिनिघाटमा पर्यटन विकासको सम्भावना
नेपाल प्राकृतिक रूपले मात्र समृद्ध छैन अपितु धार्मिक, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले पनि उत्तिकै समृद्ध छ । त्यसैले यिनको समुचित संरक्षण गर्दै यिनका बारेमा विश्व समुदायलाई राम्रोसँग जानकारी गराउन सकियो भने मात्र नेपालका हरेक क्षेत्रमा पर्यटन विकासको प्रचुर सम्भावना छ । प्रकृतिले ठगे पनि विश्वका कैयौं मरुभूमि मुलुकहरूले दिनानुदिन लाखौं पर्यटकहरूलाई आकर्षित गर्न सफल भइरहेका सन्दर्भमा नेपालमा जैमिनिघाटजस्ता ऐतिहासिक तीर्थस्थलहरूमा पर्यटन विकासको सम्भावनामात्र होइन सार्थकता पनि रहेको छ ।
निर्माणाधीन कालीगण्डकी करिडोरले जैमिनिघाटलाई पनि छोएको र जैमिनिघाटदेखि रिडीसम्म कालीगण्डकीमा र्या्फ्टिङको सम्भावना रहेका कारण मुक्तिनाथ क्षेत्रतर्पm जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई जैमिनिघाटतर्फ पनि आकर्षित गर्न सकिन्छ । हालसम्म राज्यबाट उपेक्षित रहँदै आएको जैमिनिघाटमा पर्यटनको विकास हुनसक्यो भने त्यसबाट नेपालमा अहिलेसम्म ओझेलमा परेका जैमिनि ऋषिको व्यक्तित्व र कृतित्वका बारेमा जानकारी हासिल गर्नाका साथै पर्यटनका माध्यमबाट स्थानीय जनता र समग्र राष्ट्रसमेत आर्थिक समृद्धितर्फ अग्रसर हुनसक्ने सम्भावना देखिन्छ ।
जैमिनिघाटलाई आफ्नो तपस्यास्थल बनाउने जैमिनि ऋषि निश्चय नै नेपाली थिए होलान् । उनको कृतित्वका बारेमा विभिन्न मुलुकमा अध्ययन अनुसन्धानहरू सम्पन्न पनि भइसके होलान् र सम्पन्न हुने क्रममा पनि रहेका होलान् तर बत्तीमुनिको अँध्यारो भनेझैं जैमिनि ऋषि र उनको तपस्यास्थल जैमिनिघाटका बारेमा हालसम्म नेपालबाट विशेष खोज वा अनुसन्धान हुन नसक्नु गम्भीर चिन्ताको विषय हो । त्यसका साथै जैमिनिघाटलाई पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्न नेपाल सरकार र स्थानीय जनताहरूको विशेष सक्रिय संलग्नता रहनु आवश्यक पनि देखिन्छ ।
