प्लाष्टिकको विकल्प निगालो !

तारानाथ आचार्य । बलेवा, ८ भदौ : आफैंले उत्सर्जन गरेको फोहरको व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने समस्याको विषयमा जानकारी पाएपछि ताराखोला गाउँपालिका–५ करिमेलाका स्थानीयवासीले सरसफाइका लागि नयाँ विधि प्रयोगमा ल्याएका छन् । गाउँमा प्रयोग हुँदै आएको प्लाष्टिकका सामानको विस्थापन गर्दै स्थानीय उत्पादनको प्रयोगमा करिमेलावासीले चासो देखाएका हुन् ।

करिमेलाका ८२ घरपरिवारले फोहर व्यवस्थापनका लागि प्रयोग गर्दैआएको फोहर फाल्ने भाँडाको रुप फेरिएको छ । बा¥ह बाख्रापालक किसानको खोरको प्रकृति फेरिएको छ भने २२ वटा कुखुराका खोर नयाँ प्रविधिबाट बनाइएका छन् ।

प्लाष्टिकका भाँडाको प्रयोगले स्वास्थ्य र वातावरणमा समेत गम्भीर असर पार्ने जानकारी पाएपछि उनीहरुले फोहर फाल्ने भाँडो तयार गर्न स्थानीय बाँस प्रजातिको निगालोको प्रयोग गरेका छन् । अहिले करिमेलाको गाउँलाई नमूना गाउँका रुपमा विकास गर्न ८२ घरमा प्लाष्टिकको भाँडाको विकल्पमा चोयाको भाँडा ‘डस्टबिन’ प्रयोगमा ल्याएको स्थानीय अगुवा धनबहादुर बिकले जानकारी दिए ।

करिमेलाका खेतबारीको छेउछाउदेखि जङ्गलमा पाइने निगालो प्रयोगमा ल्याएर नयाँ प्रयास थालिएको उनले बताए । “बाख्राले खाने घाँसबाहेक निगालो खेर गैरहेको थियो, यसैलाई प्रयोगमा ल्याउँ भन्ने लागेर डस्टबिन बनायौं,” बिकले भने – “उत्पादनका हिसाबले प्लाष्टिकको भाँडाभन्दा सस्तो र उपयुक्त छ ।” फोहर फाल्ने भाँडो भए पनि निगालोबाट बनाइएको भाँडो देख्नका लागि समेत सुन्दर हुने उनले बताए ।

करिमेलामा प्रयोगमा आएको यस्तो भाँडाको पछिल्लो समय ताराखोला बाहिरबाट समेत माग आउन थालेको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम’ अन्र्तगत करिमेलामा प्लाष्टिक विस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम शुरु गरिएको हो ।

निगालोबाट फोहर फाल्ने भाँडो तयार गर्न जनएकता बहुद्देश्यीय सहकारी संस्थाले संयोजन गरेको थियो । कुल ८२ परिवारका एक÷एक जनाले मिलेर जङ्गलबाट ल्याएको निगालोलाई ६ जनाले चोया बनाउने काम गरिरहेका र अरु ६ जना सिकारु राखेर डस्टबिन तयार गर्न लगाइएको हा । प्रति डस्टबिन एक हजार रुपैयाँ खर्च भएको सहकारीका अध्यक्ष समेत रहेका बिकले बताए ।

फोहर सङ्कलन गर्ने डस्टबिन मात्रै होइन परम्परागत निगालोबाट बुनेका अन्य घरायसी प्रयोजनका सामग्रीको संरक्षण समेत सँगै थालिएको छ । घरायसी काममा प्रयोग हुने प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएकाले डालो, मान्द्रो (चोयाबाटै बुनिएको एक सामग्री), सेखु, डोका बुनेर स्थानीय बासिन्दालाई वितरण गरिएको छ । गाउँमा रहेका फूल रोप्ने प्लाष्टिकको गमला हटाएर स्थानीय सामग्रीकै प्रयोग गरिने समेत विकले बताए ।

पूर्ण सरसफाइयुक्त गाउँ बनाउने तयारी    

ताराखोला गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने तयारी थालिएकाले चोयाको डस्टबिन त्यसका लागि सहयोगी बन्ने गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए । गाउँपालिकाले यो वर्षको बजेटमा ६५ लाख रुपैयाँ व्यवस्थापन गरेर पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक पूर्वाधारको तयारी थालेको छ । वडा नं ४ र ५ लाई वडागत रुपमा पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिइसकिएकाले बाँकी वडामा आवश्यक प्रकृया पूरा गरेर गाउँपालिका नै सरसफाइयुक्त घोषणा गरिने छ ।

‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम’ कार्यान्वयन गरेको ताराखोलाले गत आर्थिक वर्षमा २५ लाख रुपैयाँ अनुदान रकम पाएको थियो । सोही रकमको प्रयोग र स्थानीयवासीको सक्रियताले सरसफाइसँग जोडिएका कामहरु भैरहेका छन् । कुल ८२ घरपरिवार रहेको गाउँमा सबै घरमा करेसाबारी निर्माणको काम सकिएको छ भने व्यावसायिक उत्पादनको नमूना प्रस्तुत गर्न रु ४ लाख ५० हजार खर्चेर उच्च प्रविधिको प्लाष्टिक घर बनाइएको छ ।

तरकारीको बिरुवा उत्पादन गरेर सहकारीले वितरण गर्ने तयारी गरेको छ भने खुल्ला मलखादका कारण भैरहेको फोहरको व्यवस्थापन गर्न मलखाद सुधारको काम चलिरहेको छ । गाउँका सबै गोठको मलखाद सुधार गर्ने गरी सञ्चालन भैरहेको कार्यक्रमअन्र्तगत एक दर्जनभन्दा बढी गोठमा मलखाद व्यवस्थापन भैसकेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । ढुङ्गाको पर्खाल लगाएर खरको छानोले मलखादको सुरक्षा तथा मलखादबाट निस्किने फोहरको व्यवस्थापन थालिएको हो ।

स्थानीय उत्पादनलाई बढावा दिन लागिपरेको गाउँपालिकाले जडीबुटी खेतीलाई पनि सँगै लैजाने योजना बनाएको छ । लसुन, टिमुर, सतुवा, सुगन्धवाल, चिराइतो लगायतका जडीबुटीको नमूना परीक्षणका लागि बिरुवा उत्पादन थालिएको छ । ताराखोलाले आफ्नो नीति तथा कार्यक्रममा समेत स्थानीय उत्पादनलाई प्रथामिकता दिने उल्लेख गरेको छ । गाउँपालिका उपाध्यक्ष पुनका अनुसार स्थानीय तहमा भएका स्रोत र साधनको अधिकतम उपयोग गर्ने नीति लिइएको छ । “हाम्रो उद्देश्य गाउँपालिकालाई आत्मनिर्भर बनाउने हो,” पुनले भनिन् – “त्यसको लागि स्रोत र साधनको उच्चतम प्रयोग गर्ने हो । स्थानीय उत्पादनलाई जोड दिँदा वातावरणमा समेत सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विश्वास हो ।”

प्लाष्टिकको विकल्प कपडाको झोला    

घरायसी प्रयोजनमा ल्याइने सामग्री खरिद गर्दा होस् वा कोशेली लिँदा दिँदा होस् ताराखोलामा प्लाष्टिकका झोलाको प्रयोग धेरै हुने गरेको छ । वातावरणीय हिसाबले यसको प्रयोग प्रतिकूल रहेको निकर्षसहित गाउँपालिकाले विकल्पको खोजी गरेको छ ।

गाउँपालिकामा उद्यमीको खोजी गरेर प्लाष्टिकका झोलाको विकल्पमा प्रयोग गर्न सकिने कपडाको झोला उत्पादन थालिने अध्यक्ष घर्तिले बताए । “हामीले कपडाको झोला उत्पादन गर्नेलाई खुल्ला प्रतिष्पर्धामा ल्याउने तयारी गरिरहेका छौं,” घर्तिले भने – “झोला बनाउने मेसिन खरिद गर्दा लाग्ने कुल रकमको ५० प्रतिशत अनुदान दिने नीति बनाएका छौं ।”

मेसिन खरिदका लागि रु १० लाखसम्म अनुदान दिन सकिने उनले बताए । कपडाको झोला उत्पादन शुरु भएपछि प्लाष्टिकको झोलालाई प्रतिबन्ध लगाउने तयारीमा गाउँपालिका लागेको छ । “एकातर्फ हाम्रो आफ्नो उत्पादन हुन्छ भने अर्कोतर्फ केही युवाले रोजगारी पाउँछन्,” उनले भने – “मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम र आन्तरिक कार्यक्रमलाई उपयोगी बनाउने गरी काम अघि बढाएका छौं ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.