काठमाडौँमा ‘कर्णाली सांस्कृतिक उत्सव’ 

काठमाडौँ २० साउन : राजधानीको राष्ट्रिय नाचघर आज दर्शकले खचाखच थियो । कुर्सी भरिएपछि दर्शकले भुइँमा बसेर कार्यक्रमको अवलोकन गरे । कर्णलीको कला संस्कृतिको महत्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘कर्णाली सांस्कृतिक उत्सव’ बाट दर्शकले भरपूर मनोरञ्जन लिए । कार्यक्रम साँझसम्म चल्यो । कर्णाली प्रदेशको एकपछि अर्को गरी विभिन्न सांस्कृतिक पक्षहरुलाई प्रस्तुत गरियो ।

विशेषगरी कर्णालीमा प्रचलित देउडा संस्कृतिमा आधारित गीत, सङ्गीत र नृत्यलाई विशेष महत्व दिइएको थियो । कर्णालीको भाषा, कला र साहित्यका बारेमा चर्चा गरियो । कर्णालीमा रहेका अधिकांश राष्ट्रियदेखि स्थानीय कलाकारले आ–आफ्ना प्रस्तुति पस्केका थिए । कलाकार र साहित्यकारले काठमाडौँबाट कर्णालीको महत्वका विषयमा देशैभर सन्देश प्रवाह गर्ने जमर्को गरे । सांस्कृतिक संस्थानसँग सहकार्य गरी कर्णाली संस्कृति समाजले आयोजना गरेको कार्यक्रममा कर्णालीका ग्रामीण क्षेत्रबाट समेत कलाकार काठमाडौँ आएका थिए । स्थानीय वेशभूषामा सजिएर आएका कलाकारले दर्शकको ध्यान खिच्न सफल भए । जुम्लाको प्रसिद्ध नाच, मादल र बालो नाचले अधिकांश दर्शकलाई नयाँपन दियो ।

देउडा सम्राकट नन्दाकृष्ण जोशीले गीत गाउँदा कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत देउडा खेल्नुभयो । कलाकार पाण्डव विष्टले पनि दर्शकलाई निकै मनोरञ्जन दिनुभयो । प्रस्तुतिबाट प्रभावित भएर केही दर्शकले उहाँलाई नगद पुरस्कार प्रदान गरे । कलाकारले समाजका यथार्थ पक्षलाई गीत, सङ्गीत र साहित्यका माध्यमबाट व्यङ्ग्य गरे । अन्तिमसम्म पनि कार्यक्रममा दर्शक उल्लेख्य थिए ।

कलाकार छत्र शाही, जयन्ती शाही, रत्नकोमल विष्ट, मोतिराज बम, धर्मराज न्यौपाने, सुरज पण्डित, हिक्मत शाही, प्रेम विक, चन्द्रा बुढा, विज्ञान रोकायालगायत कलाकारले आफ्ना प्रस्तुति पस्के । क्षितिज समर्पण र हरि बुढाथोकीले कर्णालीको स्वास्थ्य समस्यालाई समेटेर मित–मितको संवाद गरे । कलाकारले तीज पर्वसम्बन्धी नाटकसमेत प्रस्तुत गरे । कर्णली प्रदेशका विभिन्न परम्पराता, रीतिरिवाज र चालचनलाई नियाँल्न पाउँदा दर्शक हर्षित देखिन्थे । पूर्वप्रधानमन्त्री खनालले कर्णालीबाटै नेपाली भाषाको जन्म भएको र नेपाली भाषाकै माध्यमबाट सबै एक सुत्रमा बाँधिएको बताउनुभयो । उहाँले भाषिक एकताले नै नेपाल एकीकरणमा ठूलो सहयोग पु¥याएको औँल्याउनुभयो । खनालले कर्णाली प्रदेश प्राकृतिक स्रोत र साधनले अरू प्रदेशभन्दा अघि रहेको जिकिर गर्दै सांस्कृतिक हिसाबले पनि अब्बल रहेको बताउनुभयो ।

“कर्णाली सिङ्गो मुलुकको भाषिक र सांस्कृतिक पक्षको नेतृत्व गर्न सक्षम छ”, उहाँले भन्नुभयो, “कर्णालीका सांस्कृतिक विशेषतालाई गहिरो र व्यापक ढङ्गले बुझ्न जरुरी छ ।” कर्णलीमा मात्रै २१ हजार मेगावाट विद्युत् निकाल्न सकिने बताउँदै उहाँले समृद्ध मुलुक निर्माणमा कर्णलीले हरेक क्षेत्रबाट सहयोग पु¥याउने दाबी गर्नुभयो ।

पूर्वगृहमन्त्री जनार्दन शर्माले कर्णालीका नागरिकले बिलौना गर्ने दिनको अन्त्य भएको बताउनुभयो । मुलुकमा गणतन्त्र आएसँगै कर्णालीको विकासले तीव्रता दिएको भन्दै उहाँले राज्यले कर्णालीको विकासका लागि आवश्यक स्रोतसाधनको परिचालन गरिरहेको बताउनुभयो । “समृद्धिका लागि अब सबै अग्रसर बन्नुपर्छ”, उहाँले भन्नुभयो, “खस, आर्य भाषाको उत्पत्ति भएको कर्णालीको महत्वका बारेमा व्यापक प्रचार–प्रसार गरिनुपर्छ ।” उहाँले पहिलो कर्णाली सांस्कृतिक सम्मेलन रुकुममा सम्पन्न भइसकेको भन्दै दोस्रो सम्मेलन जुम्लामा गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो । कर्णालीको समग्र विकासका लागि पर्यटकीय कोरिडोर निर्माण गरिने उहाँको भनाइ थियो ।

कार्यक्रममा समाजका अध्यक्ष सूर्यबहादुर रोकाया, पत्रकार तथा साहित्यकार कृष्णराज धमला, केवि सिम्पल, दीपक उपाध्याय, दलु बुढालगायतले मन्तव्य राख्दै भाषा, कला र संस्कृतिको माध्यमबाट कर्णालीलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँहरुले भाषाको जननी खस भाषालाई उपेक्षा गरिएको भन्दै यसलाई राष्ट्रिय भाषा बनाउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.