पर्यटन प्रवद्र्धनमा कलम चलाउने प्रतिबद्धता
रुपन्देही, २४ असार : लुम्बिनी भ्रमण वर्षका अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको नेपाल र भारतका पर्यटन पत्रकारको दुईदिने भेला आज सम्पन्न भएको छ ।
भैरहवामा आयोजना गरिएको नेपाल–भारतको अन्तरसम्बन्ध र पर्यटन प्रवद्र्धन विषयक भेलामा सहभागी दुवै देशका पत्रकारहरुले पर्यटन प्रवद्र्धनका लागि निरन्तर कलम चलाउने प्रतिबद्धता जनाएका हुन् । दुवै देशका पत्रकारहरुले पर्यटकहरुलाई दुवै देशमा सहज ढङ्गले भ्रमण गर्ने व्यवस्था मिलाउन र दुवै देशका नागरिकका निजी तथा सार्वजनिक सवारी साधनलाई दुवै देशमा सहज ढङ्गले आवतजावत गर्ने व्यवस्था गर्न दुवै देशका सरकारलाई आग्रह गर्दै नियमित कलम चलाउने प्रतिबद्धता गरेका छन् ।
बुद्ध जन्मस्थल पावन भूमि नेपालको लुम्बिनी, बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया, ज्ञान प्राप्तपछि पहिलो पटक धर्मदेसना गरेको स्थान सारनाथ र बुद्धले महापरिनिर्वाण गरेको कुशीनगरलाई समेटेर ‘बुद्धिष्ट सर्किट’ निर्माण गर्न दुवै देशका सरकारले गरेको प्रतिबद्धता तत्काल कार्यान्वयनमा लैजान माग गर्दै पत्रकारहरुले मिडियामार्फत पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनिहरुले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि भारतका पर्यटकीय शहरसम्म सिधा हवाई सेवा जोड्न तथा नौतनवा रेल वे स्टेशनदेखि बोधगया, लखनउ, दिल्लीलगायतका शहरसँग सिधा रेल सम्पर्कको वातारण बनाउन मिडियाका माध्यमबाट दबाब सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । पत्रकारहरुले दुवै देशका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि संयुक्त योजना बनाउन भेटघाट, छलफल र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
नेपाल भारतका पत्रकारहरुको साझा प्रतिबद्धता सुनाउँदै पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डी आर घिमिरेले नेपालको प्रदेश नं. ५ र भारतको उत्तर प्रदेशमा क्रियाशील पत्रकारहरुबीच निरन्तर समन्वयका लागि यथाशीघ्र साझा संस्था निर्माण गर्ने र नेपाल–भारत दुवै देशको पर्यटन प्रवद्र्धनका लागि दुवै देशका मिडियाले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भ्रमण आर्थिक पाटोसँग मात्र जोडिएको नभई संस्कृति आदानप्रदानका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
सिद्धार्थनगरका नगर प्रमुख हरिप्रसाद अधिकारी, भ्रमण वर्ष प्रचार समितिका संयोजक माधव नेपाल, पूर्वसांसद विनोद पहाडी, भारत नेपालमैत्री समाजका अध्यक्ष अनिल गुप्ता, संस्कृतिविद् डा गितु गिरी, भ्रमण वर्ष प्रचारप्रसार समितिका संयोजक भरत केसीलगायतले सबैको साथ र सहकार्यमा भ्रमण वर्ष सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
भारतका पत्रकार राजनारायण मिश्रले नेपाल महामानव गौतम बुद्धको जन्म स्थान भएकाले विश्वका करोडौँ बौद्धमार्गीहरु नेपाल आउन लालायीत भएको बताउनुभयो । हिन्दुस्तान टाइम्सका पत्रकार राजेश सिंहले नेपाल र भारतबीच सदियौँदेखि सुमधुर सम्बन्ध रहँदै आएकाले दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने बताउनुभयो ।
पत्रकारलाई लुम्बिनीमा स्वागत
उक्त भेलामा सहभागी हुन आएका पत्रकारहरुलाई लुम्बिनीमा स्वागत गरिएको छ । लुम्बिनीका पर्यटन व्यवसायीहरु र लुम्बिनी विकास कोषले पत्रकारहरुलाई स्वागत गरेका हुन् । नेपाल भारतका पत्रकारहरुलाई लुम्बिनीमा स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले लुम्बिनीमा भइरहेका गतिबिधिबारे पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
कार्यक्रममा विकास कोषका सूचना अधिकृत हरी राईले लुम्बिनीको महत्व र बुद्ध सर्किटका लुुम्बिनी, कपिलवस्तुको तिलौराकोट, कुदान, गोटीहवा, निग्लिहवा, अरौराकोट, सगरहवा, सीसहनीया र नवलपरासीको रामग्रामलगायतका क्षेत्रहरुबारे जानकारी गराउनुभयो । भेलामा नेपाल र भारतका ६० जना पत्रकार र पर्यटन व्यवसायीको सहभागीता थियो ।
