सांस्कृतिक प्रवद्र्धनका लागि घरबास
प्रकाश मिश्र । घोडाघोडी, १६ असार : पछिल्लो समय सांस्कृतिक प्रवद्र्धनको गतिलो माध्यम अनि आम्दानीको मुख्य स्रोत बन्न पुगेका छन् ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास । घरबास भन्ने वित्तिकै स्थानीय आथित्यता, सांस्कृतिक प्रस्तुति तथा पारिवारिक वातावरणको बसाइ भन्ने नै हो । घरबास ग्रामीण ठाउँमा होटल, लज नभएको स्थानका लागि एउटा राम्रो विकल्पको रुपमा देखिएको छ । घरबासको छुट्टै विषेषता पनि छ ।
पाहुना सत्कार, संस्कृति झल्कने परम्परागत शैलीको रहनसहन, बोली, भाषा घरबासमा पुगे नजिकबाट नियाल्न पाइन्छ । स्थानीय कला सांस्कृतिक पर्यटन प्रवद्र्धनसँगै आर्थिक रूपान्तरणमा पनि घरबास सफल भएको पाइन्छ । कैलालीको घोडाघोडी नगरपालिका–४ मा सञ्चालन भएको माघी घरबासले पनि पर्यटन प्रवद्र्धन गर्न सफल भइरहेको छ । नेपाल पक्षी संरक्षण सङ्घ र चरा संरक्षण नेटवर्क कैलालीको सहयोगमा २०७१ साल साउन १० गतेबाट माघी घरबास सञ्चालनमा आएको हो । चौध घरबाट शुरु गरिएको घरबास हाल १५ घरमा सञ्चालन भइरहेका छन् ।
घोडाघोडी ताल क्षेत्रसँगै जोडिएको माघी घरबास पुगेपछि थारु परम्परागत नाच, खाना, बास बस्नसँगै लोपोन्मुख, आगन्तुक तथा रैथाने चरासमेत अवलोकन गर्न पाइन्छ । पर्यटनको दृष्टिले महत्वपूर्ण मानिएको घोडाघोडी तालसँंगै जोडिएकाले पनि माघी घरबासमा पर्यटक आउने गर्दछन् ।
माघी घरबास व्यवस्थापनका लागि स्थानीय तहलगायत सरकारी तवरबाट पनि सहयोग भइरहेको छ । घरबासको व्यवस्थापनका लागि अहिले शौचालय, नुहाउने व्यवस्था सहितको नयाँ घर निर्माण भइरहेका छन् । घरबास व्यवस्थापनका लागि सरकारले रु २५ लाख रकम प्रदान गरेको घरबास सञ्चालक समितिका अध्यक्ष शोभाराम चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण, सरसफाइ, वृक्षरोपणलगायतका विभिन्न शीर्षकमा रकम आएको छ, अहिले भवन निर्माणको क्रममा छांँ, अन्य काम भदौ महीनादेखि शुरु गर्छौँ ।”
घोडाघोडी क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि माघी घरबासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको घोडाघोडी नगरपालिका–४ का वडाध्यक्ष टेक बुढाको भनाइ छ । घरबासको व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा सहयोग गर्न नसके पनि आउँदो आर्थिक वर्षमा वडाको तर्फबाट सहयोग गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै पर्यटकका लागि कैलालीकै अर्को घरबास गन्तव्य हो भादा गाउँ । थारु समुदायको कला संस्कृति, परम्परा, वेषभूषाको अध्ययन अवलोकनका लागि कैलालीको भादा गाउँ मुख्य गन्तव्यका रूपमा परिचित हुन थालेको धेरै समय भइसक्यो । थारु समुदायको बसोवास रहेको भादा गाउँमा वर्षेनी भादा घरबास कार्यक्रम सञ्चालन गरिएसँगै थारु समुदायको संस्कृति, रहनसहन, परम्परा, वेषभूषाको अध्ययन अवलोकनका लागि प्रमुख गन्तव्य क्षेत्र बन्न थालेको हो ।
चालू आर्थिक वर्षमा भादा घरबासमा धेरैजसो विद्यार्थी शैक्षिक अवलोकनका लागि समेत आएको घरबास सञ्चालक राजेश चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।” पर्यटक आइरहने भए पनि उचित व्यवस्था नहुँदा सेवा सुविधा दिन नसकेको अर्की घरबास सञ्चालक गुलिया चौधरीले बताउनुभयो । चालू आर्थिक वर्षको हालसम्म दुई हजार बढीको हाराहारीमा पर्यटक भित्रिएको माघी घरबास सञ्चालक समितिका व्यवस्थापक महेश चौधरीले जानकारी दिनुभयो ।
