ललित स्मृति कप फुटबलः आर्मीद्वारा फ्रेण्ड्स पराजित
काठमाडौँ, ८ असार : विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै ललित स्मृति कप यू–१८ च्याम्पियनशिप फुटबलमा विजयी शुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले फ्रेण्ड्सलाई २–० गोलले हराएको हो । आर्मीका लागि विशाल बस्नेत र जय अधिकारीले एक÷एक गोल गरे । विशालले खेलको चौथो मिनेटमा तथा जयले ३८औँ मिनेटमा एक गोल गरेका थिए । जीतसँगै समूह ‘बी’मा रहेको आर्मीले तीन अङ्क जोडेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
