वीरगञ्ज युनाइटेड सि डिभिजनमा बढुवा
काठमाडौँ, ५ असार : वीरगञ्ज युनाइटेडले स्पोर्टस् एकेडमीलाई पराजित गर्दै सहिद स्मारक ‘सि’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको ‘सि’ डिभिजन लिग छनोटअन्तर्गतको अन्तिम खेलमा वीरगञ्ज युजनाइटेडले स्पोर्टस् एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सी डिभिजनमा उक्लिएको हो ।
वीरगञ्जको जीतमा चतुरधन चौधरी, उज्वल लोप्चन श्रेष्ठ र सब्वीर चौधरीले एक÷एक गोल गरे । पराजित स्पोर्टस् एकेडेमीका लागि भने कमल देउवाले एक सान्त्वना गोल फर्काएका थिए । वीरगञ्ज बढुवा भएसँगै ‘सी’ डिभिजनमा बढुवा हुने तीनै क्लबको टुङ्गो लागेको छ । यसअघि झापा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बढुवा भइसकेका छन् । एन्फाले आयोजना गरेको उक्त छनोटमा विभिन्न ३८ टोलीले सहभागिता जनाएका थिए ।
