ग्याल्चेन चुली प्रवद्र्धनमा जोड

काठमाडौँ, ३ असार : आकर्षक पर्यटकीय गन्तव्यको रुपमा रहेको सिन्धुपाल्चोकको जुगल हिमश्रृङ्खलाअन्तर्गतको ग्याल्चेन चुलीलगायतको प्रवद्र्धनका लागि सरोकार निकायले चासो देखाएका छन् ।

काठमाडौँबाट १४६ किलोमिटर टाढा रहेको ग्याल्चेन चुलीको पहिलो पटक आरोहण खुला गरिएसँगै गत चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा मिलन तामाङ, शर्मिला थापालगायत छ जनाको समूहले सफल आरोहण गरेको थियो । जुगल गाउँपालिका–३ गुम्बास्थित उक्त चुलीको १६ दिनमा आरोहण गरिएको थियो । ग्याल्चेन चुली जुगल हिमश्रृृङ्खलाका ११ चुलीमध्येको एक हो । जुगल हिमाल समुद्री सतहदेखि छ हजार १५१ मिटर उचाइमा पर्छ ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको संयुक्त रुपमा आरोहण तथा अध्ययनका लागि सहयोग गरेको थियो । आरोहणका लागि करीब रु ५४ लाख खर्च भएको बताइएको छ । प्रथम ग्याल्चेन चुली आरोहीको अनुभव आदानप्रदान तथा आरोहण सम्भावना र चुनौतीबारे सिन्धु पर्यटन परिषद्ले ‘ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल’ (टान) सचिवालयमा आज पत्रकार सम्मेलन गरी चुली प्रवद्र्धनका लागि व्यवसायीसँग छलफल गरेको हो ।

पर्यटन प्रवद्र्धनका सम्भाव्यता, रक क्लाइम्बिङ, आइस क्लाइम्बिङसम्बन्धी अध्ययन तथा जुगल हिमाल आरोहणलाई प्रवद्र्धन गर्न वृत्तचित्र तयार गरिएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने सन्दर्भमा पनि जुगल हिमालअन्तर्गतका चुली प्रवद्र्धन गर्न जरुरी भएको व्यवसायीको भनाइ छ । कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सदस्य निमा लामाले समग्र अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि पर्वतीय पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

टानका अध्यक्ष नवराज दाहालले भ्रमण वर्ष आफैँमा अवसर भएको र यस सन्दर्भमा पहिलो पटक ग्याल्चेन चुलीको सफल आरोहणले नयाँ गन्तव्य प्रवद्र्धन भएको बताउनुभयो । उहाँले पर्वतारोहण र पदयात्राका लागि उपयुक्त गन्तव्य बनेको सिन्धुपाल्चोकको व्यवसायिक पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयास गरिनुपर्नेमा जोड दिनुभयो ।

आरोही माया गुरुङले राजधानी नजिकको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा रहेको जुगल हिमालको प्रवद्र्धनका लागि योजनावद्ध कार्यक्रम ल्याइनुपर्ने बताउनुभयो । उहाँले भ्रमण वर्ष मनाइरहँदा ग्याल्चेन चुलीसहितका अन्य चुली महत्वपूर्ण पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने र पर्यटकको सङ्ख्या पनि बढ्ने भएकाले प्रचारप्रसारका साथै पूर्वाधार विकासलाई प्राथमिकता दिइनुपर्ने बताउनुभयो ।

जुगल र लाङटाङ हिमश्रृङ्खलाअन्तर्गत छ हजार मिटरभन्दा माथि छ हजार ७९९ उचाइसम्मका २६ चुली रहेको र तीमध्ये जुगलअन्तर्गत ११ चुली छन् । तीमध्ये अझै केही हिमाल आरोहणका लागि खुला गरिएको छैन । प्रदेश ३ को आर्थिक समृद्धिसँग जोडिएको काठमाडौँबाट नजिको ‘पिक’ प्रचारप्रसार भएमा पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले ग्याल्चेन चुलीसहित ४१५ हिमाल आरोहणका लागि खुला गरेको छ । अझै एक हजार ३०० हिमाल आरोहणका लागि योग्य रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.