पार्टी एकतासँगै आचरण सुधार आवश्यक : नेता रावल

चैनपुर, २९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताउनुभएको छ । नेकपाको जिल्ला कमिटी सदस्यलाई आज शपथ ग्रहण गराउन यहाँ आइपुग्नुभएका उहाँले कतिपयले कम्युनिष्ट हुँ भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो ।

“हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ, गरीब अशहायको हितका लागि काम गर्नुपर्छ”, नेता रावलले भन्नुभयो । उहाँले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको बताउनुभयो । “योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ”, उहाँले भन्नुभयो । अहिले सङ्घीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्वएमालेबाट ८० तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्वनेकपा माओवादी केन्द्रका नेता मिन कुँवरलाई चयन गरिएको छ । शपथ ग्रहण कार्यक्रममा नेकपाका नेता लेखराज भट्ट, कर्ण थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.