हिंसामुक्त प्रदेश बनाइनेछ : मुख्यमन्त्री राई 

विराटनगर,१७ जेठ :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई हिंसा र अपराधमुक्त बनाउने कार्यमा सरकार अघि बढिरहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लब (एसटिसी) सञ्चालनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले शुरु गरेको सुसंस्कृत, स्वच्छ, नैतिकवान र लागुऔषध दुव्र्यसनमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेकामा जोड दिँदै यसले प्रदेशमा विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले नयाँ अभियानका रुपमा सञ्चालन गरेको युवायुवतीलाई लागुऔषध दुव्र्यवसनीबाट मुक्त गरी समाजप्रति जिम्मेवारीबोध गराई सामाजिक कार्यमा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेशको आगामी नीति कार्यक्रम र बजेटमा कृषि, पर्यटन पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो । उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलको एउटै उद्देश्य प्रदेशका जनताको आर्थिक समृद्धि कायम गराउनेमा नै केन्द्रीत रहेको बताउँदै सहमति र सहकार्यबाट समुन्नत प्रदेश निर्माणका लागि सरकारले सबैको साथ र सहयोग लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले युवा पुस्तालाई सामाजिक हिंसा, लागुपदार्थ दुव्र्यसनी नियन्त्रण, विपद् व्यवस्थापनमा लगाउन यस अभियान केन्द्रीत रहने र यसबाट समाजमा दीर्घकालीन सोचको विकास हुने धारणा राख्नुभयो । उहाँले अभियानअन्तर्गत प्रदेशका १३७ स्थानीय निकायमा रहेका सामुदायिक तथा संस्थागत दुई हजार विद्यालयका झण्डै दुई लाख विद्यार्थीबीच स्वयंसेवकहरु पुगी उनीहरुलाई महिला हिंसा अन्त्य र सकारात्मक भावना जागृत गराउन प्रशिक्षित गर्ने र बीचमै विद्यालय छाड्ने प्रतिशत शून्यमा झार्ने बताउनुभयो ।

कार्यक्रमा मन्त्रालयका सचिव भरतमणि रिजाल, सहभागी प्रशिक्षकहरु डम्बर अधिकारी र प्रकाश पोखरेलले युवायुवतीमा सभ्य, सुसंस्कृत र संस्कारयुक्त नागरिक उत्पादन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । प्रदेश सरकारअन्तर्गत २१ र १४ जिल्लाका १४ जना स्वयंसेवकहरु गरी जम्मा ३५ जना प्रशिक्षकलाई यही जेठ १३ गतेदेखि मुख्य प्रशिक्षकको रुपमा तालीम प्रदान गरिएको हो ।

बालिका खजुम प्रदेश सरकारको जिम्मामा

दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ । दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाउँपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो ।

परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जम्मा दिइएको गाउँपालिका अध्यक्ष माखिमले बताउनुभयो । बालिका बुझन प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोका स्वकीय–सचिव सुजन मङ्ग्राती, इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पताल आएको थियो ।

प्रहरीको निगरानीमा उपचाररत बालिकालाई कानूनी प्रक्रिया पूरा गरेर गाउँपालिकाका अध्यक्ष माखिमलाई बुझाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । कक्षा ९ मा अध्ययनरत बालिकाको पठनपाठनलाई निरन्तरता दिन इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयमा भर्ना गरिने बताइएको छ । सशस्त्र द्वन्द्वका शहीद परिवारका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएको सरकारद्वारा सञ्चालित यस विद्यालयमा सीताले अध्ययन गर्नेछिन् ।

गत जेठ ६ गते राति मावलीमा बसेकी सीता सामूहिक हत्याको घटनामा भागेर बाँच्न सफल भएकी थिइन् । हातमा चोट लागेकी उनको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भएको थियो ।

सामूहिक हत्याको घटनामा सीताका मावलीतर्फका हजुरबुबा बमबहादुर फियाकसहित हजुरआमा, कान्छी सानीआमा र उनकी बहिनी आशिका खजुमको हत्या भएको थियो । सीता विगतबाटै मावलीमा बसेर अध्ययन गर्दै आएकी थिइन् । सीताका बाबुले कान्छी आमा ल्याएपछि उनकी आमाले समेत दोस्रो विवाह गरेकीले उनी वृद्ध हजुरबुबा हजुरआमासँग बस्दै आएकी थिइन् । उक्त घटनामा उनकी माइली ठूलीआमा जस्मिता फियाक (शेर्मा) सहित शेर्माको परिवारका पाँच जनाको समेत हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.