सागको तयारीका लागि विशेष प्रशिक्षण सञ्चालन
काठमाडौँ, १५ जेठ : नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विशेष प्रशिक्षणको राखेपका सदस्य सचिव केशवकुमार विष्टले आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङका ८४ खेलाडी सहभागी छन् । सागमा समावेश २७ खेलमध्ये पहिलो चरणमा सात खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको हो । अन्य सम्बन्धित सङ्घबाट नामावली उपलब्ध नभएका कारण तत्काललाई सात खेलको मात्र विशेष प्रशिक्षण शुरु गर्न लागिएको राष्ट्रिय टोली तयारीका निर्देशक अर्जुन विकले जानकारी दिनुभयो ।
यस्तै यही जेठ २० गतेसम्ममा २७ खेलकै खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने सदस्य–सचिव विष्टले जानकारी दिनुभयो ।
प्रदेश नं ५ मा गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो । प्याराग्लाइडिङका १६ र आर्चरीका ४ खेलाडी पोखरामा तथा अन्य खेलाडी काठमाडौंँमा प्रशिक्षणमा सहभागी हुनेछन् ।
साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौँ र पोखरामा हुँदैछ । कार्यक्रममा सदस्य–सचिव विष्टले यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले १३औँ सागमा ऐतिहासिक नतिजा ल्याउन प्रशिक्षण शुरु गरिएको बताउनुभयो ।
