‘पार्टी सङ्गठनमा निष्ठापूर्वक काम गर्ने व्यक्ति चुनावबाट डराउने अवस्था’
काठमाडौँ १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको ‘लोकतान्त्रिक गणतन्त्रको आधार, प्रेस स्वतन्त्रता र मानवअधिकार’ विषयको प्रवचन कार्यक्रममा उहाँलेसंविधान संशोधन गरेर देशको प्रमुख कार्यकारी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
पैसा नभएका नेताहरुले चुनावबाट भाग्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो “पार्टी सङ्गठनमा निष्ठापूर्वक काम गर्ने व्यक्ति चुनावबाट डराउने अवस्थाको सिर्जना भयो ।” उहाँले नागरिक समाजको भूमिकामा रहनुपर्ने व्यक्ति तथा संस्थाले पनि विभाजित भएर पार्टीगत धारणा राख्ने गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।
अर्को प्रसङ्गमा उहाँले मिडिया काउन्सिल विधेयक यथास्थितिमा पारित नहुने बताउँदै मिडिया र मानवाधिकारका विषयमा विधेयक ल्याउनुअघि पार्टीमा कुनै छलफल नभएको जानकारी दिनुभयो । मानवाधिकारलाई अङ्कुश लगाउने खालका विषयलाई सच्याएर संसद्मा लैजान पार्टीका तर्फबाट सुझाव दिइने उहाँले बताउनुभयो ।
सो अवसरमा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाली काँंग्रेसले परिवर्तन ल्याउन सकेन भनेर आरोप लगाउने गरिए पनि नेपाल कम्युनिष्ट पार्टी पनि कांँग्रेसभन्दा फरक बाटो हिँड्न नसकेको बताउनुभयो । “वर्तमान सरकारले दुई तिहाइको दम्भ त्याग्नुपर्छ”, उहाँले भन्नुभयो, “कांँग्रेस पनि सङ्कीर्णताबाट अलग रहनुपर्छ ।” उहाँले मानवाधिकार, प्रेस स्वतन्त्रता र नागरिक अधिकारलाई बलियो बनाउने विषयमा आफूहरु सचेत रहेको बताउनुभयो ।
कांँग्रेस नेता गगनकुमार थापाले गणतन्त्र आएपछि विभिन्न संस्थाको गरिमा झनै घट्दै गएको बताउनुभयो । “ हामी अदालत, प्रशासन र विश्वविद्यालयलाई समेत विवादित बनाउँदैछौंँ”, उहाँले भन्नुभयो, “यी संस्थाप्रति नागरिकको विश्वास र भरोसा घट्दै जानु दुःखको विषय हो ।” उहाँले वर्तमान सरकारले लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थालाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न नसकेको आरोप लगाउँदै अर्थतन्त्र र सुशासनका पक्षमा वर्तमान सरकार कमजोर बन्दै गइरहेको बताउनुभयो ।
नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, शान्ति समाजका सभापति उत्तम पुडासैनी, संस्थापक सभापति कृष्ण पहाडी, पूर्वसभापति डा गंगाधर अधिकारी, सचिव रत्नलक्ष्मी श्रेष्ठ र केन्द्रीय सदस्य नम्रता खरेलले शान्ति समाजले गणतन्त्र दिवसलाई प्रत्येक वर्ष उत्सवका रुपमा मनाउँदै आएको बताउनुभयो ।
