अन्तर्राष्ट्रिय सगरमाथा दिवस : आरोही सम्मानित

काठमाडौँ, १५ जेठ : आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात् विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको दिन । दुई साहसी आरोही तेञ्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई साहसको परिचय दिएका थिए ।

सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । यस क्रममा केही मानवीय क्षति पनि भए । दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ ।

सोही सन्दर्भमा आज नेपालमा पनि १२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । संसारलाई आकर्षण गर्ने सगरमाथाको आकर्षणसँगै संरक्षणका चुनौती पनि बढ्दो छ ।

आरोही सम्मानित

दिवसकै अवसरमा सरकारले सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई सम्मान गरेको छ । सगरमाथासहित विश्वका अग्ला १४ हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही एवम् समाजसेवी दक्षिण कोरियाका नागरिक उम होङ गिललाई नगद रु एक लाखसहितको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरिएको छ ।

त्यस्तै ‘तेञ्जिङ हिलारी पुरस्कार’ तीन जना स्वदेशी तथा विदेशी आरोहीलाई प्रदान गरिएको छ । अष्ट्रेलियाका नागरिक एन्थोनी गोडेन तथा नेपाली आरोही माया शेर्पा र ज्ञानेन्द्र श्रेष्ठलाई जनही रु ५० हजार र कदरपत्रसहित पुरस्कृत गरिएको छ । ती सबै पुरस्कार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वितरण गर्नुभएको थियो ।

प्रथम सगरमाथा आरोही हिलारीकी छोरी शेरा हिलारी र आरोही निमा जाङ्बु शेर्पालाई कदरपत्रद्वारा सम्मान गरियो भने आरोही दावा तामाङलाई नगद रु २५ हजारसहित पुरस्कृत गरियो । त्यस्तै पहिलो पटक सरकारी स्तरबाट निजी क्षेत्रको साझेदारीतामा शुरु गरिएको सगरमाथा सफाइ अभियानमा संलग्न पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाली सेनाका महासेनानी जोनसन खड्कालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा मनाङको हुम्देमा पर्वतारोहण विद्यालय निर्माणका लागि नेपाल पर्वतारोहण सङ्घका तर्फबाठ अध्यक्ष सन्तवीर लामा र उम होङ गिल हुमन फाउण्डेशनका तर्फबाट कोरियन नागरिक उमबीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । फाउण्डेशनले विद्यालय निर्माणमा सहयोग गर्नेछ ।

पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । यस मौसममा सगरमाथासहितका ३२ हिमाल आरोहणका लागि ११६ आरोही समूहका ८९५ आरोहीले आरोहण अनुमति लिएका थिए । यस याममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ ।

संरक्षणका लागि साझा प्रयास गरिनुपर्ने : सञ्चारमन्त्री बाँस्कोटा

यसैगरी उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले विश्वको अनुपम सभ्यता सगरमाथाको संरक्षणका लागि साझा प्रयास गरिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले सगरमाथालगायतका हिमाल आकर्षण केन्द्र मात्र नभई संरक्षणको चुनौतीको विषय भएको उल्लेख गर्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “यो एउटा सगरमाथाको मात्र कुरा होइन् अनुपम सभ्यताको उपहार पनि हो । विश्वकै अग्ला १४ हिमालमध्ये नेपालमा आठ हिमाल छन् । आज यी हिमाल आकर्षणको केन्द्र मात्र नभई सुरक्षाको चुनौतीको विषय भएको छ । हिमाल कालापत्थरमा परिणत हुने हुन् कि भन्ने चिन्ता बढेको छ । त्यसैले पर्यटक आकर्षण गर्नेसँगै हिमालको सुरक्षाका लागि पनि ध्यान दिन जरुरी छ । यसमा नेपालले मात्र गरेर पुग्दैन विश्व समुदायले संरक्षणका लागि साझा प्रयास थालिनुपर्छ ।”

पछिल्लो सगरमाथा आरोहणका सन्दर्भमा आएको प्रचारबारे ध्यानाकर्षण गराउँदै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले हिमाल आरोहणका क्रममा पर्याप्त तालीम नलिएकै कारण यो वर्ष धेरै आरोहीको निधन हुन गएको बताउनुभयो ।

“यस यामको सगरमाथा आरोहणमा पनि आठ जनाको मृत्यु भयो । व्यवस्थापनको कमजोरीले मृत्यु भयो भनी प्रचार भयो । म दुःख व्यक्त गर्न चाहन्छु तर उल्टो हल्ला चलाइनु हुन्न । म यसको खण्डन गर्न चाहन्छु प्रकृतिसँग सन्तुलन कायम गरेमा आवश्यक तालीम तथा जनशक्तिका साथ आरोहण योग्य व्यक्ति मात्रै आरोहणमा जानुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले हिमालमा शेर्पाले मात्र मयूर जसरी नाच्न सक्ने बताउँदै फेशनका रुपमा आरोहण गर्ने को सङ्ख्या वृद्वि हुँदा मृतकको सङ्ख्या बढेकाले त्यसतर्फ सचेत रहन तथा पर्याप्त तालीम लिएकाहरुलाई मात्र हिमाल आरोहणको अनुमति दिन नियामक निकाय पर्यटन विभागलाई निर्देशन दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले विश्वको साझा सम्पति सगरमाथाको गौरवलाई कायम राख्न संरक्षण प्रवद्र्धनका कामलाई सबैले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले सगरमाथा आरोहणको आकर्षणसँगै यसको सुरक्षा र गरिमालाई बचाउन चुनौती भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.