संसदीय समितिद्वारा अलपत्र योजना अनुगमन
ओखलढुङ्गा, १२ जेठ : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मध्यपहाडी लोकमार्गका अलपत्र योजनाको अनुगमन गरेको छ ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेका मध्यपहाडी लोकमार्गका तीन वटा पक्की पुलको संसदीय समितिले स्थलगत अनुगमन गरेको हो ।
ठेक्का लागेको करीब आठ वर्षदेखि अलपत्र परेका सो लोकमार्गअन्तर्गत सिन्धुलीको फिकल गाउँपालिकाको खाङसाङ्ग बेसी, सिन्धुलीकै सोखु खोला तथा सिन्धुली र उदयपुरको सिमानामा रहेको बादुराखोलाको पुलका विषयमा समितिले स्थलगत अनुगमन गरेको समितिका सदस्य तथा ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो ।
“विभिन्न कोणबाट हामीले ठेकेदारलाई खबरदारी गर्दा अटेर गरेपछि समितिले आएर अनुगमन गर्नुपरेको हो”, उहाँले भन्नुभयो, “अनुगमनका क्रममा देखिएका विषय उठान गरेर सरकारलाई सुझाव दिन्छौँ र काम नगर्ने ठेकेदारलाई कारवाहीको दाहेरामा ल्याएर त्यो काम फत्ते गराउँछौँ ।” सांसद सुनुवारका अनुसार पुलको स्थलगत अनुगमनका क्रममा समितिको टोलीले स्थानीय, ठेकेदारका प्रतिनिधि र मध्यपहाडी लोकमार्ग आयोजना प्रमुखसँग अन्तरक्रिया गरेको छ ।
करीब आठ वर्षदेखि पुल निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न नगरी अलपत्र छोडेका हुन् । तीनमध्ये खाङसाङ्ग बेसीको पक्कीपुलको पप्पु कन्सट्रक्सन र सोखुखोलाको नेपाल प्रगति जेभी पप्पु कन्सट्रक्सनले ठेक्का लिएका हुन् । बादुरा खोलाको भने सगरमाथा घिमिरे निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो ।
तीन वर्षभित्र पुलको निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको भए पनि निर्माण कम्पनीले हालसम्म गरेका छैनन् । अनुगमनका क्रममा समितिका सभापति कल्याणी खड्काले ठेकेदारले तत्काल काम अघि नबढाए ठेक्का प्रक्रिया तोड्नुपर्ने बताउनुभयो । एकै पटक ठेक्का लागेका सडकको पिच चार वर्ष पहिले सकिएर भत्किन थालिसके पनि अहिलेसम्म पनि पुल नबन्नु लज्जाको विषय भएको उहाँको भनाइ थियो ।
मध्यपहाडी लोकमार्ग आयोजनाका संयोजक दीपक केसीले बादुरा खोलको पुलको प्रगति पछिल्लो समय देखिएको तर पप्पुको कामको प्रगति नदेखिएकाले अब तीन महीनापछि पनि काम अघि नबढे ठेक्का तोड्न बाध्य हुने बताउनुभयो ।
खाङसाङ्गमा निर्माणाधीन पुल स्थानीयसँगको विवाद देखाउँदै रोकिएपछि निर्माणाधीन पुल जीर्ण बनिसकेको छ । मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डमा सडक पुल नबन्दा ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा आवतजावत गर्न समस्या छ । यिनै पुलहरु निर्माण नहुँदा माथिल्लो सगरमाथा क्षेत्रकाबाट राजधानी आवतजावत गर्ने सडकमा वर्षेनी बाढीले सडक अवरुद्ध पार्ने गरेको छ ।
