‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ, ११ जेठ : कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारोहमा प्रविधि र आविष्कारबाट मुलुकको विकास सम्भव हुने धारण व्यक्त गरेका छन् ।

एघार विद्यार्थी सङ्गठनका सबै नेताले आविष्कारको क्षेत्रमा प्रवेश गरी देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन सरकारले बजेट छुट्याउनुपर्ने धारण व्यक्त गरेका हुन् । अनेरास्ववियु पाँचौँ, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), समाजवादी विद्यार्थी फोरम नेपाल, नयाँशक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (रायमाझी), अखिल क्रान्तिकारी (ढकाल), राष्ट्रिय विद्यार्थी सङ्घ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ, राष्ट्रवादी विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्घ (संयुक्त) का विद्यार्थी नेताले एकै कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।

नेपालको पहिलो आविष्कार केन्द्र त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई मानिन्छ । झण्डै ४० वर्षदेखि अस्तित्वमा रहेको सो केन्द्रका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको छैन । सरकारी निकायबाट गठन भएको अर्का आविष्कार केन्द्र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) रहेको छ । नाष्टको स्थापना सन् १९८२ मा भएको हो ।

त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक रामेश्वर अधिकारीले विगत ४० वर्षदेखि सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गत गरेको आविष्कार केन्द्रका लागि हालसम्म कुनै पनि प्रकारका रकम विनियोजन नगरेको बताउनुभयो ।

संयुक्त विद्यार्थी सङ्गठनले आयोजना गरेको ‘नेपालमा आविष्कारको संस्थागत बहस’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रा डा उदयराज खनाल, प्रा डा भोला थापा, सहायक प्रा डा ऋषिराम रेग्मी नाष्टका उपकूलपति सुनिलबाबु श्रेष्ठ, प्रा डा जीवराज पोखरेल, वरिष्ठ कलाकार नीर शाह, प्रा डा खगेन्द्र लुइँटेलले वैज्ञानिक, आविष्कार र नवप्रवर्तक सम्बन्धमा फरक ढङ्गले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.