प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

विराटनगर, ९ जेठ : प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ ।

प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको छ भने सङ्घीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवन सिटौलाका अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासअन्तर्गत शिक्षा, स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेको छ । चालू आवका लागि सरकारले कूल रु ३५ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश योजना आयोगले प्रदेशको विकासका लागि आगामी बजेटमा प्रदेश सरकारलाई कूल रु ५५ अर्बको बजेट ल्याउन सिफारिस गरेको छ । आगामी आवका लागि प्रदेश योजना आयोगले आवधिक योजना दिशानिर्देशमा महत्वपूर्ण विषयलाई समेटेर तयार पारेको खाकाअनुसार सो बजेटको सिफारिस गरिएको आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिनुभयो । उहाँले आयोगले मूलभूत रुपमा कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गर्न सकेमा प्रदेशमा समृद्धि आउने, उत्पादन बढ्ने, प्रशस्त रोजगारका अवसर सिर्जना हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदेशमा भित्र्याउन सकिने कुरामा जोड दिनुभयो ।

प्रदेश १ मा चौथो अधिवेशनअर्थात् बजेट अधिवेशन यही जेठ १३ गतेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.