बजेट नीति कार्यक्रम ल्याउन प्रदेशसभा बैठकमा छलफल

धनगढी, ६ जेठ : सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले सरकारले कार्यान्वयन गर्न सहज हुने बजेट नीति कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को पूर्वबजेट छलफलका लागि प्रस्तुत दस्तावेजमाथिको छलफलमा भाग लिने सदस्यहरुले अश्वासन मात्र बाँडेर कार्यान्वयन गर्न नसकिने नीति कार्यक्रम ल्याएमा त्यसले जनतामा निराशा बढ्ने बताउनुभयो । उहाँहरुले सङ्घीयताको मर्म र भावनाअनुसार बजेट नीति कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो ।

कृषि, सिँचाइको विकास, पर्यटन प्रवद्र्धन, जलस्रोतको उपयोग, स्वरोजगारका अवसर सिर्जना, पछाडि परेको क्षेत्रको विकास, छुवाछूत विभेदको अन्त्य गर्नेतर्फ सरकारको बजेट नीति तथा कार्यक्रमले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अक्कलबहादुर रावल, वीरमान चौधरी, पूर्णा जोशी र प्रेमप्रकाश भट्ट, नेपाली काङ्ग्रेसका कर्णबहादुर मल्ल र श्यामलाल राना थारू तथा राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले भाग लिनुभएको थियो । यसअघि आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आव २०७६/७७ को पूर्वबजेट छलफलका लागि तयार पारिएको दस्तावेजमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सदनले स्वीकृत गरेको थियो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि समान्य छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा नेकपाका महेशदत्त जोशी र रतन थापा, काङ्ग्रेसका गोविन्दराज बोहरा तथा राष्ट्रिय जनता पार्टीका मालामति रानाथारूले भाग लिनुभएको थियो । अर्को बैठक यही जेठ ७ गते दिउँसो २ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.