गुणस्तरीय सडक निर्माणमा जोड

काठमाडौँ, ५ जेठ : देशका ७६ जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएसँगै सरकारले सडक विस्तारभन्दा गुणस्तरीय सडक निर्माणमा जोड दिएको छ । पहिले सडक सञ्जाल विस्तार गर्नु पहिलो उद्देश्य भए पनि आगामी वर्षको बजेटले भएका सडकको स्तरोन्नतिमा बढी केन्द्रित हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अहिले पहुँचलाई कम प्राथमिकता दिएको प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार देशभरमा अहिले हुम्ला जिल्ला सदरमुकाम मात्रै सडक सञ्जालसँग जोडिन बाँकी छ । उहाँले भन्नुभयो, “अहिले जनताले पनि सडक निर्माण मात्र भन्दा पनि गुणस्तरीय सडकको माग गरिरहेका छन् ।”

पहिले भित्री सडकबाहेकका सडक निर्माण नेपाल सरकारले नै गर्दै आएको थियो । नयाँ संरचनाअनुसार तीन तहको सरकारलाई नै सडकको जिम्मेवारी बाँडफाँटको समेत योजना बनिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँका अनुसार दुई देश वा दुई प्रदेश जोड्ने सडक सङ्घीय सरकारले र बाँकी सडक प्रदेश सरकारले निर्माण गर्नेछ ।

उहाँले भन्नुभयो, “यो व्यवस्थाअनुसार सङ्घीय सरकारले भन्दा धेरै सडक निर्माणको जिम्मेवारी प्रदेश सरकारको हुन्छ ।” पर्याप्त जनशक्ति नभएकाले चालू आवमा पाँच सडक योजना प्रदेश सरकारले सङ्घीय सरकारलाई नै फिर्ता पठाएको थियो । सङ्घीय सरकारले भने जिल्लास्थित डिभिजन सडक कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.